साहित्यकार सृजन लम्सालको लघुकथासङ्ग्रह ‘धरतीका यमराज’ को विमोचन गरिएको छ । काठमाडौँको अनामनगरमा आयोजित एक विशेष समारोहका बिच सो लघुकथासङ्ग्रहको विमोचन गरिएको हो ।

स्वदेश प्रकाशनका प्रमुख ऋषिराम पाण्डेको अध्यक्षता र वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरेको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको छ । ७८ वर्षीय लघुकथाकार लम्सालको जन्मदिनको अवसर पारेर सो कार्यक्रम आयोजना गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि घिमिरेले लघुकथाकार लम्साललाई जन्मदिनको शुभकामना दिँदै सिर्जनशील जीवनको कामना गरे । रचना पत्रिकामार्फत धेरै पहिलेदेखि लम्सालसँग परिचित भएको चर्चा गर्दै उहाँका केही रचना र पुस्तक अध्ययन गर्न पाएको तथा ती स्तरीय र पठनीय भएको बताए । लामो समय साहित्य साधनामा लागेका लम्साल मोफसलमा बसेर पनि सिर्जनामा तल्लीन रहेको बताउँदै निरन्तरताको कामना गरे ।

लघुकथाकार महेश प्रसाईंले आज रचना गर्ने, भोलि पुस्तक प्रकाशन गर्ने र पर्सि पुरस्कार प्राप्त गर्ने चलन बढिरहेको प्रसङ्ग उल्लेख गर्दै लघुकथाकार लम्सालले कृतिकारकार रुपमा सार्वजनिक हुन ५२ वर्षसम्म हतार नगरेको सुनाए । कोरोनाले आक्रान्त बनाएको समयलाई सिर्जनशील बनाएर लघुकथाकारले यो कृति तयार गर्न सकेको उनले बताए ।

कृतिमाथि समीक्षा गर्दै प्रा.डा. लक्ष्मणप्रसाद गौतमले नेपालगञ्जको गर्मीमा बसेर सिर्जना गरे पनि चर्चा र प्रचारमा उहाँ कहिले पनि नहतारिएमा प्रशंसा गरे । लम्सालका विभिन्न साहित्यिक व्यक्तित्व रहेको बताउँदै उनले पहिलो र उत्कृष्ट व्यक्तित्व निबन्धकार रहेको र त्यसपछि कथाकार, लघुकथाकार तथा तेस्रोमा कवि व्यक्तित्व रहेको उल्लेख गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनले लघुकथाकार लम्साललाई जन्मदिनको शुभकामना दिँदै सिर्जनशील जीवनको कामना गरे । लम्सालका लघुकथा उत्कृष्ट रहेको उल्लेख गर्दै निरन्तरको अभ्यास र साधनाबाट यो कृति आएको उनले उल्लेख गरे ।

कार्यक्रममा सीमित साहित्यकार, कथाकार तथा पत्रकारहरुको सहभागिता रहेको थियो ।