मदन पुरस्कार गुठीको बैठकले २०७९ सालको जगदम्बा-श्री सम्मान कलाकार टेकवीर मुखियालाई अर्पण गर्ने निर्णय गरेको छ भने मदन पुरस्कार विवेक ओझाको उपन्यास ‘ऐँठन’लाई प्रदान गर्ने निर्णय गरेकाे छ ।
अक्षरलाई कलाको आवरणमार्फत पाठकसँग जोड्न तथा स्रष्टालाई मुहारचित्र मार्फत साहित्यानुरागी माझ पुर्याउन महत्त्वपूर्ण योगदान दिएकाले मुखियालाई जगदम्बाश्री सम्मान अर्पण गर्ने निर्णय गरिएको गुठीले जनाएकाे छ ।
६ दशकदेखि कला क्षेत्रमा सक्रिय मुखियाले लामो समय साझा प्रकाशनमा आबद्ध भएर पुस्तकका कभर डिजाइन गरेका थिए ।
त्यस्तै, विगतमा नेपाल एवं नेपाली समाजले बेहोरेको द्वन्द्वको दुःस्वप्न र अहिले पनि त्यस दुःस्वप्नले ऐँठनको पीडामा डुबाइरहेको यथार्थलाई उत्कृष्ट औपन्यासिक कलामार्फत् उपन्यासमा व्यक्त गरेका कारण ओझाको ऐँठनलाई मदन पुरस्कार अर्पण गर्ने निर्णय गरिएकाे गुठीले जनाएको छ ।
ऐँठन लेखक ओझाको तेस्रो कृति हो । यसअघि उनका ‘ऐलानी’ र ‘एक पाइला आकाशमा’ पुस्तक प्रकाशित छन्।
यसअघि मदन पुरस्कार गुठीले श्रेष्ठ पाँच पुस्तकको सूची प्रकाशित गरेको थियो । जसमा सुविन भट्टराईको इजोरिया, ओझाको ऐँठन, द्वारिकानाथ ढुङ्गेलको चक्रव्यूहमा नेपालको जलस्रोत, प्रगति राईको थाङ्ग्रा र सञ्जय विष्टको माटोको घर समावेश थिए । त्यसमध्ये ओझाको ऐँठनले मदन पुरस्कार प्राप्त गरेको हो ।
दुवै पुरस्कार तथा सम्मानको राशि चार लाख रुपैयाँ रहेकाे छ ।
२०७९ सालको मदन पुरस्कारका लागि ३१३ पुस्तक प्राप्त भएको गुठीले जनाएको छ ।
२०७८ सालको जगदम्बा-श्री सम्मान भाषा-साहित्यसेवी दुर्गाप्रसाद श्रेष्ठलाई र मदन पुरस्कार नवराज लम्सालको महाकाव्य ‘अग्नि’लाई प्रदान गरिएको थियो ।
जगदम्बाश्री २०४५ सालबाट र मदन पुरस्कार २०१३ सालबाट प्रदान गरिंदै आएको छ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।