हेम सरिता पाठक फाउन्डेसनले एक लाख राशिको “भ्रष्टाचारविरुद्धको गीत प्रतियोगिता”को समय थप गरेकाे छ । प्रतियोगिताको समय ०८० भदौ १५ गतेसम्म तोकिएकोमा मङ्सिर १५ सम्म थप समय तोकिएको नेपाल शाखाका अध्यक्ष एवं प्रतियोगिताका संयोजक राधेश्याम लेकालीले जनाएका छन् ।

यस प्रतियोगितामा उत्कृष्ट शब्दलाई पुरस्कृत गरिने छ ।

अमेरिकामा बसोबास गर्दै आउनुभएका समाजसेवीहरू हेम पाठक र सरिता पाठकले पुरस्कार रकमको व्यवस्था गरेका हुन् । यसअघि पनि एक लाख राशिको “भ्रष्टाचारविरुद्धको कविता प्रतियोगिता”को घोषणा भइसकेको छ ।

फाउन्डेसनले पत्रकारिताका अलावा सङ्गीत र साहित्यमा पुरस्कारहरू प्रदान गर्दै आएको छ । त्यस्तै, नेपालमा स्कुल सञ्चालन, विपन्न वर्गका लागि घर निर्माण र आयमूलक कार्यक्रमका लागि रकम अनुदान तथा अमेरिकामा गरिब नेपाली विद्यार्थीलाई छात्रवृत्तिसमेत उपलब्ध गराउँदै आएको छ ।

प्रतियोगितामा भाग लिन निम्न नियमहरू उल्लेख गरिएको छः

– गीत भ्रष्टाचारविरुद्ध चेतना जगाउने खालको हुनुपर्ने छ ।

– आफ्नो गीत इमेलमार्फत पठाउनुपर्ने छ ।

– गीत रेकर्ड गरेको हुनुपर्ने छ ।

– कुनै पनि राजनीतिक पूर्वाग्रह र गालीगलौज, साम्प्रदायिक भावनालाई प्रोत्साहित गर्ने विचारहरू र  अश्लील शब्दको प्रयोग गरिएको हुनुहुँदैन । पाइएमा त्यस्ता गीत स्वतः अस्वीकृत हुने छन् ।

– एक जना गीतकारले एउटा  मात्र गीत पठाउन सक्नेछन् । एकभन्दा बढी आएमा स्वतः बदर हुनेछ ।

– गीत नयाँ र मौलिक हुनुपर्ने छ । गीतकारले आफ्नो रचनाका साथमा आफ्नो छोटो परिचय, पासपोर्ट साइजको फोटो र सम्पर्क ठेगाना पनि पठाउनुपर्ने छ ।

– प्रतियोगिताका लागि प्राप्त गीतमा अरू कसैको गीतको अंश या नक्कल गरिएको पाइएमा स्वतः अस्वीकृत हुने छ ।

– प्रतियोगिताको निर्णयमा कुनै पनि विवाद आएमा अन्तिम निर्णय संयोजकको रहने छ ।

– गीत प्राप्त हुनुपर्ने अन्तिम दिन २०८० भदौ १५ गतेसम्म हुनेछ ।

– पुरस्कार नगद एक लाख रुपैयाँ (प्रमाणपत्रसहित) हुने छ ।

– यो प्रतियोगिता उत्कृष्ट शब्दका लागि मात्र हुने छ ।

सम्पर्क : Email : hemsaritapathak@gmail.com Phone No : 9851059354