साताकाे पुस्तककाे रूपमा साहित्यपोस्टलाई वासुदेव अनुभवद्वारा सम्पादन गरिएकाे संयुक्त टुक्का कवितासङ्ग्रह “व्यङ्ग्य कन्तुर” प्राप्त भएकाे छ ।
यसमा नेपाल लगायत विश्वका विभिन्न मुलुकमा रहेर नेपाली भाषा साहित्यलाई माया गर्नुहुने ४९ जना टुक्काकारहरूको १० / १० वटा टुक्का कविता सङ्ग्रहित छन् ।
“टुक्का कविता नेपाली माटोमा जन्मिएर हुर्किंदै गरेको सरल एवं मौलिक कविता विधा हो ।” टुक्का साहित्य समाजद्वारा उल्लेख गरिएको छ, “बाहिरी संरचना अन्तर्गत टुक्का कवितामा जम्मा दुई हरफ हुन्छन् । यसका दुई हरफमध्ये पहिलोलाई आद्य पङ्क्ति र दोस्रोलाई अन्त्य पङ्क्ति वा अन्त्य हरफ भनिन्छ । दुवै हरफमा अक्षर सङ्ख्या समान हुनुपर्छ । अक्षर सङ्ख्याको हकमा एक हरफमा कम्तीमा ५ अक्षरदेखि बढीमा २७ अक्षरसम्म (जसले परिपूर्णता देओस्) राख्न सकिन्छ । टुक्काको दुवै हरफको अन्तमा तुक (अन्त्यानुप्रास) मिलेको हुनु पर्ने छ । शब्दानुप्रास तथा एकाक्षरी तुकान्त मान्य हुने छैन साथै अतुकान्त हरफहरूलाई यसको दोष मानिएको छ ।”¬
पठनीय टुक्का कवितामा बाबा बस्नेत लेख्छन्, “२०७७ सालमा कवि ताराप्रसाद चापागाईंको परिकल्पनालाई प्रयोगमा ल्याइएको टुक्का कविताले अहिले विस्तृत रूप लिइसकेको तथ्य यस कृतिले पुष्टि पार्दछ । हाम्रो जीवनचर्या र बोलीचालीको भाषामा प्रचलित विभिन्न प्राचीन लवज, उखान, टुक्का, भजन टुक्काहरूको विकसित रूप नै टुक्का कविता हो कि भन्ने पनि लाग्दछ । हिँड्दैछ, आँखा तर्दैछ, बाँदरको पुच्छर लौरो न हतियार, नाच्न जान्दैन आँगन टेढो जस्ता जनजिब्रोमा अल्झिएका टुक्काहरूलाई लिएरै टुक्का कविताका कल्पनाकारले यो उपविधाबारे धारणा निर्माण गर्नु भयो कि भन्ने पनि लाग्दछ ।”
भुँडीपुराण प्रकाशनबाट बजारमा ल्याइएको ९८ पृष्ठमा आबद्ध पुस्तकको मूल्य २ सय रुपियाँ रहेको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।