लघुकथा प्रतिष्ठान नेपालले आह्वान गरेको कालजयी लघुकथा अभियानको नतिजा सार्वजनिक भएको छ ।
नव वर्ष आरम्भ (२०८० बैशाख १ गते) देखि कुशे औँशी (भाद्र २८) सम्म लघुकथामा अभियानमा ११५ लघुकथा पोस्ट भएका थिए । तीमध्ये नवोदित स्रष्टाका पाँच लघुकथालाई उत्कृष्ट लघुकथा भनी निर्णय सार्वजनिक गरिएको हो ।
पाँच उत्कृष्ट लघुकथामा राजकुमार कार्कीको ‘आमा’, अल्पविराम पोखरेलीको ‘आमाको मन’, कुञ्जदेवी उपाध्यायको ‘प्रस्ताव’, सुनिता निरौला पौडेलको ‘सम्मान’ र अम्बिका बास्तोलाको ‘मालिक’ उत्कृष्ट पाँच लघुकथाभित्र पर्न सफल भएको कुरा संयोजक मनोहर पोखरेलले बताएका छन् ।
स्थापित र अग्रजका लघुकथाहरू अभियानमा मात्र सामेल गरिएको र प्रतियोगी भनी सामेल भएका लघुकथा मात्र निर्णयका लागि निर्णायककहाँ पठाइएको थियो । खेमराज पोखरेलको संयोजकत्वमा तीन सदस्यीय छनोट समिति क्रियाशील थियो ।
लघुकथाकारको नाम र ठेगाना हटाई तीन दर्जन लघुकथा निर्णायककहाँ पठाइएको थियो । नामको प्रभावबाट निर्णायकहरू मुक्त होऊन् भनी उक्त विधि अपनाइएको जानकारी प्रतिष्ठानकी संस्थापक लक्ष्मी रिजालले बताइन् ।
नवोदित सर्जकलाई प्रोत्साहन होस् र अन्यलाई पनि लघुकथा लेखन अभियानमा सहभागी हुन जाँगर चलोस् भनी उत्कृष्ट पाँच लघुकथा घोषणा गरिएको जानकारी सन्दर्भ पत्रिकाका प्रधान सम्पादक नन्दलाल आचार्यले दिए ।
लघुकथा प्रतिष्ठानकै सहप्रकाशन ‘सन्दर्भ’ लघुकथा प्रधान डिजिटल पत्रिका हो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।