नेपाल प्रज्ञा-प्रतिष्ठान, समालोचना र साहित्येतिहास विभागले ‘नेपाली साहित्यको इतिहास लेखन परम्परा, प्रवृत्ति र आवश्यकता’ विषयक विचार गोष्ठीको आयोजना देवकोटा सभाकक्षमा सम्पन्न गर्यो । यस गोष्ठीको समुद्घाटन प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले ब्यानर वाचन गरेर गर्नुभयो ।

यस गोष्ठीको स्वागत मन्तव्यका क्रममा प्रज्ञा-प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीले नेपाली साहित्यको समग्र इतिहास लेखनका बारेमा खोजी र विश्लेषण हुनुपर्ने बताउनुभयो ।

विचार गोष्ठीको अध्यक्षता नेपाल प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा साहित्य (समालोचना र साहित्येतिहास) विभाग प्रमुख मधुसुदन गिरीले गर्नुभयो । यस अवसरमा उहाँले नेपालको समालोचना लेखन कस्तो अवस्थामा रहेको छ ? आजको विश्वमा समालोचना लेखनको प्रवृत्ति के कस्तो रहेको छ ? नेपाली साहित्यको इतिहास लेखन, परम्परा र प्रवृत्ति के कस्तो छ, के कस्तो आवश्यकता छ ? भन्ने विषयमा दुईमहिने विमर्श शृङ्खला सुरु गरिएको कुरा उल्लेख गर्नुभयो ।

प्रस्तुत विषयमा प्रज्ञा-प्रतिष्ठानका प्राज्ञसभा सदस्य तथा समालोचक डा. बालकृष्ण अधिकारीले कार्यपत्र प्रस्तुत गर्नुभयो। त्यस कार्यपत्रमा साहित्येतिहास के हो ?, साहित्येतिहास कस्तो हुन्छ ?, नेपाली साहित्यको इतिहासलेखन परम्परा, इतिहासचेतको प्रारम्भ वा पृष्ठभूमि निर्माण, यसका मूल प्रवृत्तिहरू, साहित्येतिहास लेखन र ग्रन्थ प्रकाशन, साहित्येतिहासको सैद्धान्तिक तथा प्रायोगिक विमर्श र नेपाली साहित्यको इतिहासलेखनका आवश्यकताका बारे प्रष्ट पारिएको छ ।

यस कार्यपत्रका टिप्पणीकार प्रा.डा. दयाराम श्रेष्ठले ‘नेपाली साहित्यलेखन कमजोर छैन ।अहिले नेपाली भाषा संसारका कुनाकुनासम्म छरिएको छ ।तिनको पनि इतिहास लेखिनुपर्छ ।यसका लागि तथ्यपूर्ण सामग्रीको सङ्कलन हुनुपर्छ ‘भन्नुभयो ।

यसैगरी कार्यपत्रका अर्का टिप्पणीकार डा. विन्दु शर्माले वर्णनात्मक ढाँचामा लेखिएको यस कार्यपत्रका सीमाहरू प्रष्ट खुल्याइ पनि साहित्य इतिहास लेखनमा शैली विज्ञानका बारेमा थप व्याख्या हुनुपर्ने बताउनुभयो ।

प्रस्तुत कार्यपत्रमाथि सहभागीका तर्फबाट प्रा.डा.माधवप्रसाद पोखरेल ,प्रा.डा. रामप्रसाद ज्ञवाली, डा. हरिप्रसाद सिलवाल , डा. सोम धिताल ,घनेन्द्र ओझा,ज्ञानु अधिकारी ,सरोज दिलु विश्वकर्मा,प्रमोद प्रधान र विक्रम त्रिपाठीले आआफ्नो धारणा राख्नुभयो ।

यस कार्यक्रमको सहजीकरण तथा उद्घोषण प्रज्ञा-प्रतिष्ठान ‘समालोचना तथा साहित्येतिहास’ विभागका सदस्य तेजविलास अधिकारीले गर्नुभयो ।