कथाकार दिला शाहको कथासङ्ग्रह ‘अँध्यारो बस्तीकी नायिका’लाई ‘सनत रचना कथा सम्मान’ प्रदान गरिएको छ । नेपालगन्जका कथाकार सनत रेग्मीले आफू र पत्नीको नाममा स्थापना गरेकाे उक्त सम्मान मध्यपश्चिम स्रष्टा समाजले २०७९ सालका लागि अँध्यारो बस्तीकी नायिकालाई प्रदान गरेको हो ।
स्रष्टा समाजले नेपालगन्जमा आयोजना गरेको सम्मान हस्तान्तरण कार्यक्रममा लुम्बिनी प्राविधिक विश्वविद्यालयका सेवा आयोग सदस्य प्रा.डा. कृष्णप्रसाद घिमिरेले कथाकार शाहलाई हस्तान्तरण गरे । नगर १० हजार १ सय ११ रुपैयाँ राशिसहितको सम्मान हस्तान्तरण गर्दै घिमिरेले कथाकार शाहमा राम्रो कथाकार हुने क्षमता देखिएकाले निरन्तर साधनामा लाग्न आग्रह गरे ।
सम्मानित पुस्तकमाथि आफ्नो धारणा राख्दै समीक्षक लेकप्रसाद प्याकुरेलले कथासङ्ग्रहमा नारी पात्र प्रमुख रहेको र बाल मनोविज्ञानका कथा पनि पठनीय रहेको बताए । उनले पात्र र कथालाई थप माझ्न सकेमा शाहले उत्कृष्ट कथाकृति दिनसक्ने बताए ।
सम्मानित कथाकार शाहले पुस्तकलाई सम्मान गरिनुले साहित्य लेखनीमा आफूमा हौसला थपिएको बताइन् ।
वरिष्ठ कथाकार रेग्मीले विद्याकुटीर फउण्डेसनमा रहेको कोषबाट हरेक वर्ष कथाकार वा कथाकृतिलाई उक्त सम्मान प्रदान गरिने बताए । उक्त सम्मान हरेक वर्ष रेग्मीको जन्मोत्सवका दिन प्रदान गर्न मध्यपश्चिम स्रष्टा समाजले संयोजक र व्यवस्थापकको भूमिका खेल्ने समाजका अध्यक्ष शुक्रऋषि चौलागाईंले जानकारी दिए ।
सम्मान प्रदान गर्ने कार्यक्रममा विद्याकुटीर फाउण्डेसनले नै प्रकाशित गरेको डा. एकनारायण पौडेल लिखित पुस्तक ‘नेपाली कथामा आन्चलिकता’को विमोचन पनि गरिएको थियो ।
कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभा सदस्यद्वय महानन्द ढकाल र शशीराम कार्की, लुम्बिनी प्रदेश सभा सदस्य माया पुन, ओलम्पियन सुरेन्द्र हमाल र कथाकार सुमित्रा न्यौपानेले बोलेका थिए ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।