हेटौंडा । मातृभूमि साहित्य समाजको २५ औँ स्थापना दिवसको अवसरमा आयोजित “सम्मान समर्पण तथा कृति लोकार्पण” एवम् रचना वाचन कार्यक्रम भव्य रूपमा सम्पन्न भएकाे छ ।

मातृभूमि साहित्य समाज मकवानपुरले प्रत्येक दुई वर्षमा प्रदान गर्दै आइरहेको “मातृभूमि राष्ट्रिय पुरस्कार २०८०”  वरिष्ठ संस्कृति अध्येता प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति  प्रा.डा. जगमान गुरुङलाई हस्तान्तरण गरेको  छ । नेपाली संस्कृति क्षेत्रमा  महत्त्वपूर्ण योगदान पुर्‍याएबापत गुरुङलाई २५ हजार राशिको सो पुरस्कार प्रदान गरिएको हो ।

त्यसै गरी, संस्थाका कार्यसमिति सदस्य किशन पौडेलद्वारा स्थापित रु. ११ हजार १ सय ११ नगद राशिको “मातृभूमि लघुकथा रत्न सम्मान-२०७९ ”   “लघुकथालय”का सर्जक, वरिष्ठ लघुकथाकार डा. विदुर चालिसेलाई समर्पण गरिएकाे छ । चालिसेले लामो समयदेखि लघुकथाको क्षेत्रमा  महत्त्वपूर्ण योगदान पुर्याएबापत सो पुस्कार प्रदान गरिएकाे हाे ।

उक्त कार्यक्रममा महाकाव्यकार मुना अर्यालको दोस्रो महाकाव्य ‘महाकाय” को  पनि विमोचन गरिएकाे छ ।

संस्थाका अध्यक्ष माधवबहादुर पोखरेलको अध्यक्षता तथा सामाजिक विकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा समाजका संरक्षक एवम् संस्थापक अध्यक्ष  हयग्रीव आचार्य, सल्लाहकार देवराज खरेल र संरक्षक मुक्ति गोविन्द वैद्यलाई संस्थाले विशेष सम्मान गरेको छ ।

कार्यक्रम संस्थाका महासचिव हेमन्त ढुङ्गेलले सञ्चालन गर्नुभएको थियो भने सचिव मञ्जु खरालले सम्मानित व्यक्तित्वहरूको बारेमा प्रकाश पार्नु भएको थियो । त्यस्तै, संस्थापक अध्यक्ष देवराज खरेलले संस्था स्थापनदेखि हालसम्मको गतिविधिको  बारेमा  प्रकाश पार्नु भएको थियो ।

कार्यक्रममा  मकवानपुर जिल्लाका साहित्यिक सङ्घसंस्थाका प्रमुखहरू  एवम् स्रष्टाहरूको बाक्लो उपस्थिति रहेको थियो ।