आख्यानकार विश्व कुइकेलको ऐतिहासिक विषयवस्तुमा आधारित उपन्यास “गोपीचा” काठमाडौँमा विमोचन गरियो । राणाकालीन पात्र गोपी शर्मा अर्थात् गोपी च्यामेमाथि आख्यानीकरण गरिएको उक्त उपन्यास लेखकको दोश्रो साहित्यिक कृति हो ।
“एक बाहुनले राणाकालमा गरेको जातीय विद्रोहमाथिको विषयबस्तु आख्यान ‘गोपीचा’मा समेट्ने प्रयास गरेको छु । यसअघि सुगन्धपुर कथा सङ्ग्रहमाथि सकारात्मक प्रतिकृया प्राप्त भएको कारण गोपीचामाथि कलम चलाउने उत्साह थपियो ।”, कुइकेलले बताए ।
कार्यक्रममा प्रमुख अतिथि एवम् वरिष्ठ आख्यानकार नारायण ढकालले काँठको चरित्रलाई समेत टिपेर गोपीचाको जातिय बिरोधलाई आम पाठकसमक्ष सटिक किसिमले शब्दमा उतार्न सक्नु नै लेखकको दख्खल भएकाे बताउँदै भने, “जातीय विभेदको चरम असमानतामाथि विद्रोह गरेको पात्रमार्फत ऐतिहासिक विषयवस्तुमा सामाजिक चित्रण गरेको उपन्यास आफैँमा एक महत्त्वपूर्ण कृति बनेको छ ।”
समीक्षक राजकुमार बानियाँ, कुमारी लामा र लेखक शङ्कर तिवारीले समेत कृतिकाे खुलेर प्रशंसा गरे ।
“गोपीचा”मा जम्मा एकाइस खण्डमा बिसौँ शताब्दीको अन्त्यतिरको राजनीतिक अवस्था, सामाजिक जनजीवन, कानुनी संरचनालगायत प्रजातान्त्रिक आन्दोलनका विषयवस्तुलाई कलात्मक रूपमा जोड्दै गोपी शर्मालाई जीवन्त बनाउने प्रयास गरिएको छ । यसैका कारण “गोपीचा” इतिहासको कालखण्डमा आममानिसले भोग्न परेको उत्पीडिन र दासताविरुद्ध भए/गरेका बिद्रोह जान्न र बुझ्न चाहनेको लागि गतिलो दस्ताबेज तयार भएको समीक्षकहरूको मत थिषो।
शिखा बुक्सले प्रकाशन गरेको उपन्यासको मूल्य तीन सय पचहत्तर रहेको छ ।
कार्यक्रम शिखा बुक्सका पुष्पराज पौडेलको सभापतित्वमा सम्पन्न भएको थियो भने संविधान सभा सदस्य दीपक कुइकेललगायत विभिन्न साहित्यिक व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहेको थियो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।