समग्र अध्ययन अनुसन्धान केन्द्र, नेपालको आयोजनामा २०८० असोज ३ गते संविधान दिवसका अवसरमा कमलविनायक, भक्तपुरस्थित रोम्बस कलेजमा साहित्य सञ्चार कार्यक्रमको पहिलो श्रृङ्खलामा छन्द कविता वाचन कार्यक्रम सम्पन्न भएको छ । संंस्थाका अध्यक्ष छन्द विज्ञान निरौलाको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमको प्रमुख अतिथि भाषा आयोगका सदस्य डा. पुष्करराज भट्ट हुनुहुन्थ्यो ।

संस्थाका सचिव रामकुमार खड्काको सञ्चालनमा सम्पन्न भएको सो कार्यक्रममा कोषाध्यक्ष मुकेश तिमिल्सिनाले स्वागत मन्तव्य दिनुभएको थियो । 

कविता वाचन समारोहमा नारायणप्रसाद निरौला, गणेश घिमिरे ‘मार्मिक’, लुमणिप्रसाद खनाल, रामशरण न्यौपाने, डा. राजेन्द्र कोजू, सुशीला धमला, डिल्लीप्रसाद मूलतिहुन, शान्ति सापकोटा, देवीप्रसाद मिश्र एवम् छन्दविज्ञान निरौलाले कविता वाचन गर्नुभएको थियो ।

कार्यक्रममा अधिकांश कविले छन्द कविता वाचन गरे पनि केही कविले गद्य कविता वाचन गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि डा. पुष्करराज भट्टले वाचित कवितामाथि टिप्पणी गर्नुभएको थियो । उहाँले वर्तमानका अधिकांश कविले राजनीतिकर्मीका दोष पक्ष मात्र देखाउने गरेकाले अबका दिनमा नेपाली स्रष्टाहरूले पृथक् विषयवस्तु एवं कलाका माध्यमबाट अघि आउनुपर्ने विचार व्यक्त गर्नुभएको थियो ।

रोम्बस कलेजका प्रमुख एवं संस्थाका उपाध्यक्ष डा. राजेन्द्र कोजूले समग्र अध्ययन अनुसन्धान केन्द्रले ज्ञानविज्ञानका विभिन्न क्षेत्रमा काम गरिरहेको जानकारी दिनुभएको थियो । कार्यक्रममा काठमाडौं  वरपरका ३० जना जति स्रष्टाहरूको उपस्थिति थियो ।