नेपाली साहित्यमा सशक्त पहिचान बनाएका साहित्यकार सरुभक्त (भक्तबहादुर श्रेष्ठ) ६९ वर्षमा प्रवेश गरेका छन् ।

साहित्यमा मुक्तक हुँदै कथा, उपन्यास र नाटक विधामा कलम चलाउँदै आएका सरुभक्तले उपन्यास ‘पागल बस्ती’का लागि ०४८ सालमा मदन पुरस्कार जिते । त्यसपछि उनको लेखनीको प्रसिद्धि चुलियो । उनले नेपाली उपन्यास लेखनमा छुट्टै मानक नै स्थापित गरे ।

उनै सरुभक्तले छिट्टै ‘सरुभक्तका विज्ञान कथा’ नामक कृति आउने भएकाे छ । जसमा विज्ञानका कथाहरू सङ्ग्रहित रहने छन् ।

आगामी पुसभित्र प्रकाशित भई बजारमा आउने उक्त कृतिलाई फाइन प्रिन्टले प्रकाशन गर्नेछ ।

त्यस्तै, उनको उत्कृष्ट मुक्तकहरूको सङ्ग्रहसमेत प्रकाशोन्मुख रहेको छ । त्यसलाई नेपाल साहित्य समाज, बेलायतले प्रकाशनमा ल्याउन्दै छ ।

सरुभक्तका करिब ५ दर्जन रचनामध्ये ‘पागल बस्ती, ‘तरुनी खेती’, ‘समय त्रासदी’ र ‘चुली’ सर्वाधिक रुचाइएका उपन्यास हुन् । त्यस्तै, ‘सिरुमारानी’ चर्चित नाटकसङ्ग्रह हो ।

आफ्नो कलमद्वारा नेपाली साहित्यलाइ अझै उर्वर बनाउन सकून्, सरुभक्तलाई साहित्यपोस्ट परिवार हार्दिक शुभकामना व्यक्त गर्दछ ।