राष्ट्रकवि माधवप्रसाद घिमिरेका नाममा १ लाख रूपियाँ राशिको पुरस्कारको स्थापना भएको छ । नेपाली भाषा र साहित्यको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने श्रष्टा तथा साधकलाई यो पुरस्कार अर्पण गरिने छ ।

प्रतिष्ठानका तर्फबाट अध्यक्ष श्री विजयराज न्यौपाने र राष्ट्रकविको परिवारका तर्फबाट श्रीमती महाकाली घिमिरेद्वारा समझदारीपत्रमा हस्ताक्षर गरी पुरस्कार स्थापना गर्ने घोषणा गरिएको हो ।

पुरस्कार प्रयोजनका लागि राष्ट्रकवि संरक्षक रहेको मर्स्याङ्दी वाङमय प्रतिष्ठानको नाममा उहाँकी धर्मपत्नी श्रीमती महाकाली घिमिरे तथा पुत्रद्वय इन्दिवर घिमिरे तथा राजीव घिमिरेले १६ लाख रूपियाँको अक्षयकोष खडा गरेका छन् छन् । सो कोषबाट प्राप्त हुन आउने ब्याजबाट प्रत्येक वर्ष नेपाली भाषा र साहित्यको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने श्रष्टा तथा साधकलाई एक लाखको पुरस्कार एवम् सम्मान अर्पण गरिने छ ।

पुरस्कार राष्ट्रकविको जन्मदिनको अवसरमा हरेक वर्ष आश्विन ७ गते अर्पण गरिनेछ । पुरस्कारको  व्यवस्थापन मर्स्याङ्दी वाङ्मय प्रतिष्ठानले गर्नेछ ।