काठमाडौँ । नेपाली साहित्यका विराट् प्रतिभा भैरव अर्यालको स्मृतिमा स्थापित विभिन्न तीन पुरस्कार प्राप्त गर्ने स्रष्टाहरूको नाम भैरव पुरस्कार गुठीले सार्वजनिक गरेको छ । भैरव पुरस्कार गुठीका अध्यक्ष वरिष्ठ साहित्यकार रोचक घिमिरेको अध्यक्षतामा सम्पन्न बैठकले पुरस्कार प्राप्तकर्ताहरूको नाम अनुमोदन गरेको हो ।
गुठीले सार्वजनिक गरेको पुरस्कृत स्रष्टाहरूको नामवलीअनुसार २०८० सालको भैरव पुरस्कार वरिष्ठ हास्यव्यङ्ग्यकार मुन पौडेललाई प्रदान गरिने भएको छ । यो पुरस्कारको राशि १ लाख ११ हजार १ सय ११ रुपैँया रहेको छ ।
त्यसैगरी १ लाख १ हजार १ सय ११ रुपैँया राशिको भैरव वाङ्मय पुरस्कार प्राध्यापक डाक्टर अभि सुवेदीलाई प्रदान गरिने गुठीले जनाएको छ । त्यस्तै ५१ हजार १ सय ११ रुपैँया राशिको भैरव प्रतिभा पुरस्कार व्यङ्ग्यकार बद्रीप्रसाद दाहाल (भस्मासुर) लाई प्रदान गरिने भएको छ ।
पुरस्कार प्राप्तकर्ताहरूको नाम छनौट गर्न गुठीले साहित्यकार नरेन्द्रराज पौडेलको संयोजकत्वमा साहित्यकारद्वय बाजुराम पौडेल र वसन्त रिजाल सदस्य रहेको चयन समिति गठन गरेको थियो ।
भैरव स्मृति दिवसको दिन, आउँदो असोज १९ गते शुक्रवार गोकर्णेश्वर-५ स्थित भैरव स्मृति भवनमा एक कार्यक्रम गरी घोषित पुरस्कारहरू वितरण गरिने गुठीका सचिव वसन्त रिजालले जानकारी दिए ।
रिजालका अनुसार गुठीको साधारण सभा पनि सोही दिन गरिनेछ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।