राज यात्री लम्साल, युएई । झापाली समाज युएईले हरितालिका तीजको अवसर पारेर विभिन्न व्यक्तिलाई सम्मान गरेको छ । दुबईमा आयोजित एक कार्यक्रमका बिच समाजले युएईमा सफल व्यवसायीको रूपमा परिचित केशव कार्की र अनु चुँडाललाई सम्मान गरेकाे हाे ।

१२ वर्षअघि कामदारको रूपमा युएई आउनु भएका व्यवसायी कार्कीले अहिले विभिन्न ५ वटा कम्पनी स्थापना गरी सयौँ नेपालीलाई सहयोग गरिरहनु भएको छ भने चुँडाल ट्राभल व्यवसायमा आबद्ध हुनुहुन्छ । उहाँ पूर्व पत्रकारसमेत हुनुहुन्छ ।

सोही कार्यक्रमका बिच झापाली समाज युएईले असहाय बालबालिकाहरूका लागि स्थापना गरेको अक्षयकोषमा सहयोग गर्ने विभिन्न व्यक्तिहरूलाई समेत सम्मान गरेकाे छ ।

त्यसैगरी, क्षितिज नाटक घरद्वारा झापाको चारपानेमा निर्मित “झापा नाटक घर” निर्माणमा सहयोग गर्ने व्यक्तिहरूलाई पनि सम्मान गरिएको पत्रकार रामप्रसाद ढुङ्गलले जानकारी गराउनुभयो ।

झापाली समाज युएईकी महिला विभाग पूर्व प्रमुख तथा केन्द्रीय सदस्य लीला बिमलीको संयोजकत्वमा सम्पन्न कार्यक्रममा समाजका अध्यक्ष अमर राई, पूर्व अध्यक्ष अशोक चापागाईंलगायत सम्पूर्ण क्षेत्रीय समितिका पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेको थियो ।

एनआरएनए (NRNA) युरोप संयोजक ललितचन्द्र न्यौपाने प्रमुख अतिथि रहनुभएको कार्यक्रमको सञ्चालन पत्रकार रामप्रसाद ढुङ्गेलले गर्नुभएको थियो।

कार्यक्रममा तीजको दर खाने, खुवाउने तथा युएईका केही चर्चित नेपाली रेस्टुरेन्टहरूको खाना परीक्षण गर्ने कार्यक्रमसमेत राखिएको थियो ।