
भक्तपुर । मिसा साहित्यकार मुनाको आयोजनामा लघुकथा प्रशिक्षण कार्यक्रम गरिएको छ । लघुकथाबारे जानकारी र लेखन प्रभावकारी बनाउन आयोजित सो कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी बौद्ध विश्वविद्यालयका डीन माणिकरत्न शाक्यले प्रत्येक व्यक्तिको अनुभूति छुट्टाछुट्टै हुन्छ भन्दै ती सबै अनुभूतिको महत्त्व हुने बताउनुभयो ।
लघुकथाको प्रशिक्षण दिँदै कथाकार धु्रव मधिकर्मीले छोटो आयाममा जीवनको कुनै एउटा घटना वा अनुभूतिको माध्यमबाट व्यक्त हुने विषय लघुकथा हुने बताउँदै त्यसलाई प्रभावकारी र सार्थक पार्ने स्रष्टाहरुले गम्भीर रुपमा चिन्तन गर्नुपर्ने बताउनुभयो ।
कवयित्री लक्ष्मी मालीले मातृभाषाको उत्थान गर्न सबै सचेत हुनुपर्ने बताउनुभयो ।
सभापतिको आसनबाट साहित्यकार मुनाका अध्यक्ष अञ्जना ताम्राकारले लघुकथाप्रति नयाँ पुस्ताको आकर्षण र स्तरीय लेखनको लागि यसप्रकारका उपलब्धिपूर्ण कार्यहरु गर्दै जाने बताउनुभयो ।
कार्यक्रममा उपाध्यक्ष विमलप्रभा बज्राचार्य, कोषध्यक्ष दिब्या ताम्रकार र सचिव विमला मानन्धरले पनि मन्तव्य राख्नुभएको थियो ।
प्रशिक्षण कार्यक्रममा स्रष्टाहरु विमल ताम्रकार, समान्त, भगतदास, रिता महर्जन, मिमला शर्मा, किरण केन, बद्री वेदना, लक्ष्मीचन्द्र बज्राचार्य, राजेश्वरी राजोपाध्याय, दिलकुमारी डंगोल, दीपना शर्मा, धर्म सिकर्मी लगायतका स्रष्टाहरुको उपस्थिति थियो ।
नेपालभाषा क्षेत्रमा महिला स्रष्टाहरुबीच संवाद र साहित्यिक गतिविधि बढाउन केही वर्ष अगाडि स्थापित मिसा साहित्यकार मुनाले विविध साहित्यक कार्यक्रम गर्दै आएको छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

