गत महिनादेखि सुरु गरिएको मासिक कथा वाचन गोष्ठी दोस्रो – २ सम्पन्न भएको छ । कार्यक्रमको सुरु हालै दिवङ्गत कथाकार राजेन्द्र पराजुलीको असामयिक निधनमा आत्माको चिरशान्तिको कामनासहित एक मिनट मौनधारण गरिएको थियो ।
कार्यक्रममा दिवङ्गत व्यक्तिको कथा वाचनअन्तर्गत कथाकार देवकुमारी थापाको कथा ‘प्रलय प्रतीक्षा’ किशोर पहाडीले वाचन गरेका थिए । दसको दशकका कथाकार गोविन्द लोहनीको ‘कमरेड जाने होइन ?’ सङ्ग्रहबाट ‘चलिआएको चलन’ उनकै सुपुत्र कपिल लोहनीले वाचन गरेका थिए ।
बीसको दशकका कथाकार विश्वम्भर चञ्चलको ‘विभ्रान्ती’ शीर्षकको कथा नियात्राकार चन्द्रप्रसाद भट्टराईले कथा वाचन गरेका थिए । बीसको दशकसकै “नव सङ्गीत” कथा कथाकार पवन आलोकले वाचन गरेका थिए ।
तीसको दशकबाट दिव्य गिरीले ‘रहर’, चालीसको दशकबाट मधुवन पौडेलले ‘सहनाज’, पचासको दशकबाट मन्दिरा मधुश्रीले ‘मासुको तिर्सना’, साठीको दशकबाट प्रदीप बगालेले ‘गन्तव्य’ र सत्तरीको दशकबाट प्रोल्लास सिन्धुलियले ‘बागबजार बोल्दैन’ वाचन गरेका थिए ।
कार्यक्रममा पुष्कर लोहनीले साहित्यिक गतिविधिको बारेमा बोलेका थिए भने कार्यक्रम सञ्चालन मन्दिरा मधुश्रीले गरेकी थिइन् ।
पुष्कर लोहनी, चन्द्रप्रसाद भट्टराई र मन्दिरा मधुश्रीको संयोजनमा गत महिनादेखि मासिकरूपमा कथा वाचन कार्यक्रम आरम्भ भएको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।