साताकाे पुस्तककाे रूपमा साहित्यपोस्टलाईप्रसिद्ध कवयित्री, लेखिका भारती गौतमकृत संस्मरणात्मक उपन्यास “अमेरिकामा आमा” प्राप्त भएकाे छ ।
यसमा परिवारसँग बिताएको लेखिकाको तीस वर्षे जीवनको व्याख्या तथा विश्लेषण पाइन्छ । ‘रित्तो काख’, ‘काठमाडौँ छाडेका दिन’, ‘छोरो मेरो शिक्षक’, ‘परिवार र पर्व’, ‘फर्किएर ओहायो’, ‘मातृत्वमा बुद्धत्व’ आदि उपशीर्षहरू समावेश छन् । नेपाल र अमेरिकाको परिवेश, भाषाको विविधता, सामाजिक, सांस्कृतिक, पारिवारिक विषयहरूलाई समेटेर लेखिकाले पुस्तकलाई सरल, मिठो र आकर्षक तरिकाले प्रस्तुत गर्नुभएको छ ।
“सुसंस्कारयुक्त, सुशिक्षित तथा मातृभूमिप्रति सद्भावना, स्नेह र समर्पणको पवित्र भावनामा डुबेकी नेपाली आमाका अनुकरणीय र उदाहरणीय व्यवहारहरूका छत्रछायामा अमेरिकाजस्तो विकसित मुलुकका विभिन्न नगरहरूका विद्यालयहरूमा छोराछोरीहरू हुर्केको चित्रण यस कृतिमा औधी प्रशंसनीय र अनुकरणीय छ ।” भूमिकामा प्रा. डा. तारानाथ शर्मा लेख्छन्, “एउटा ससानो उदाहरणका लागि अमेरिकाको विद्यालयमा पढ्ने छोराको यो प्रश्न कम्ती स्वाभाविक र रमाइलो छैन, ‘ममी, तपाईं र बुबा मेरो कस्तो बुबाआमा हो ? स्यामुएकको जस्तो रियल (साँच्चै) कि जनी र सेराको जस्तो स्टेप (सौतेनी) हो ?’”
“सन्तोष र शान्ति प्राप्तिको टाकुरामा स्थापित गराउन सक्षम उपाधि ‘आमा’ निषेधित विषयवस्तु या प्रतिबन्धित शहर नभएको अनुभूतिसम्म पुग्ने लामो यात्राको कहानी हो यो । यात्रा र अनुभव रोचक र उल्लेखनीय भएर हैन त्यसको विपरीत भएकोले नै मेरो हृदयबाट पोखिएको हो ।” पुस्तक भन्दा पहिलेमा लेखिका लेख्छिन्, “अरूसँग भेट गर्नुभन्दा आफ्नैसँग भेट गर्नु सबैभन्दा कठिन हुँदो रहेछ । संस्कारगत आस्थाका पर्खालबाट बाहिरिन जति गाह्रो हुन्छ संस्कारगत मान्यताको ढोका बाहिर निस्किएर फेरि भित्रिन त्यो भन्दा सजिलो हुँदो रहेनछ । परिभाषा र मान्यतालाई चुनौती गर्नु अनि अदृश्य जीवन बाँच्नु झन् कठिन रहेछ ।”
४ सय ९६ पृष्ठमा आबद्ध, शब्दार्थ प्रकाशनबाट बजारमा आएको पुस्तकको मूल्य ७ सय ५० रुपियाँ रहेको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।