साताकाे पुस्तककाे रूपमा साहित्यपोस्टलाई साहित्यकार, संस्कृतिविद् मैथिल लोकसंस्कृतिको अध्ययन अनुसन्धानमा सक्रिय समालोचक डा. रामदयाल राकेशको नवीनतम समीक्षात्मक कृति “केही समीक्षा” प्राप्त भएकाे छ ।
९६ पृष्ठमा मौलिएको यस कृतिमा ‘द्रौपदी अवशेष’, ‘इजोरिया’, ‘खलंगामा हमला’, ‘खेलौनाको सेक्स गेम’, ‘लू’, ‘द्रौपदी’, ‘दुलारी’ र ‘प्रतीकात्मक प्रश्न’ कृतिहरूको समालोचनात्मक आलेखहरू पाइन्छ । जस्तै ‘आख्यानको रूपमा प्रेमा शाह’मा ‘पहेँलो गुलाफ’कथाको विश्लेषण र ‘सानु शर्माको औपन्यासिक उत्कृष्टता’मा ‘उत्सर्ग’ उपन्यासको सारसंक्षेप आदि समावेश छन् । साथै ‘समसामयिक उपन्यास लेखन’ र ‘समसामयिक नेपाली समालोचना’ पनि सङ्ग्रहित छन् । सङ्ग्रहित लेखहरूमा सरल र सहज भाषाशैलीको प्रयोग साथै यथार्थ मूल्याङ्कन पाइन्छ ।
पुस्तकको पछिल्लो कभर पृष्ठमा कमल ढकाल लेख्छन्, “हृदयको सुवासमा धूपभन्दा टाढा जान्छ र झनै सुगन्धित हुन्छ । मलाई यस्तै लाग्दछ । डाक्टर रामदयाल राकेश पनि हृदयलाई सुवासित गर्न हिँडिरहनुभएको छ । पढेर लेखेर नअघाउने उहाँ लेखिरहनुहुन्छ, पढिरहनुहुन्छ र अक्षरमा सुवास छर्दै हृदय सुवासित बनाउँदै अघि बढिरहनुभएको छ ।”
लेखकीयमा रामदयाल राकेश लेख्छन्, “समीक्षा लेखनको प्रेरणा मैले नेपाली साहित्यका सुप्रसिद्ध साहित्यकार भवानी भिक्षुबाट पाएको थिएँ । उहाँलाई म एकपल्ट भेट्न गएको थिएँ र उहाँले के भन्नुभयो भने नेपालीमा समीक्षा लेखन नगण्य छ । तसर्थ तिमी समीक्षा लेख्ने गर । पुनश्च: मैले सुरु सुरुमा कविता लेख्ने गर्दथेँ तर मलाई नै आत्मसन्तुष्टि नभएकोले मैले कविता विधालाई अँगाल्न सकिनँ । भनिन्छ, असफल कवि आलोचक बन्दछ । म समीक्षा लेखनमा सक्रिय हुन थालेँ ।”
पुस्तकलाई सिमल बुक पब्लिकेसनले बजारमा ल्याएको हो र यसको मूल्य ३ सय ५० रहेको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।