गान्तोक ।। सिक्किमबाट कविता, कथा, अनुवाद र निबन्ध लेखनमा अभ्यासरत प्रवीण खालिङको दोस्रो कृति “चिया गफ”को रूपमा चाँडै बजारमा आउऩे भएको छ । पत्रकारितामा लामो समयदेखि अभ्यास गरिरहेका खालिङले सिक्किमको राजधानी गान्तोकमा बसेर धेरैवटा पत्रपत्रिका र नेपाल दार्जीलिङका अनलाइन पत्रिकामा गफहरू प्रकाशित गर्दै आएका छन् ।

यो मान्छेको जीवनका उकाली ओरालीमा भेटिने कुराहरूलाई कवितात्मक शैलीमा लेखिएका निबन्धजस्तो लाग्ने तर गफकै रूपमा लेखिएको विभिन्न विषयलाई समेटिएका लेखहरूको संग्रह हो । उनी भन्छन्, ‘चिया गफ जहाँ सिक्किम छ, दार्जीलिङ छ, कालेम्पोङ छ। पूर्वोत्तर भारतमा बस्ने नेपालीहरूको समस्या र कष्टहरू छ। नेपाल छ र छ विभिन्न साहित्यकारहरूले लेखेका कुराहरूको टिप्पणी र चर्चाहरूमार्फत उनीहरूलाई गफमा हुलिएको छ ।’

प्रवीण खालिङको यसअघि झरी प्रेमका कविताहरूको सङ्कलन प्रकाशित छ। भारतबाट थालिएको समावेशी साहित्य लेखनको एक संस्थापक अभियन्ता खालिङ पेशाले पत्रकार हुन् भने फोटोग्राफी, भिडियोग्राफी, डकुमेन्ट्री बनाउने अनि देशाटनमा धेरै चासो राख्ने युवा हुन् । त्यसैले उनको चिया गफमा यात्रा विवरणजस्तो कुराहरू पनि भेटिन्छ।

सिक्किमको मेन्युस्क्रिप्ट पब्लिकेशनले बजारमा उतार्ने छ भने अहिले गान्तोकको चर्चित पुस्तक पसल र प्रकाशन गृह रचना बुक्स अनि सिलगढ़ीका हाम्रो किताब घरबाट “चिया गफ”-को अनलाइन अग्रिम बुकिङ शुरू भइसकेको छ। सेप्टेम्बर महिनाको अन्तसम्म पाठकहरूको हातमा पुग्ने बताइएको छ।