किरात सभ्यता र संस्कृतिमाथि लेखिएको गीत ‘हौँ हामी किराती’ सार्वजनिक भएको छ । कवि तथा गीतकार मनुहाङ किराती ‘सोलु’को शब्द र प्रेम कुमार कुलुङको स्वरमा उक्त गीत सार्वजनिक भएकाे हाे ।

यो गीतमा सवित कुलुङले सङ्गीत भरेका छन् भने क्षितिज कुलुङको सङ्गीत संयोजन तथा मिक्सिङ रहेको छ ।

गीतमा समग्र किरातीको इतिहास र गौरवगाथा समेटिएको छ ।

सोलुखुम्बुका कवि तथा गीतकार मनुहाङको यो उनको पाँचौँ गीत हो । यसअघि उनले लेखेका ‘सालपा सिलिछोमी’ (कुलुङ भाषामा), ‘मुर्चुंगा र बिनायो’लगायत गीत सार्वजनिक भइसकेका छन् ।

मूलत: कविता लेखनमा सक्रिय मनुहाङ सोलुखुम्बुका रेडियोकर्मी पनि हुन् । गीत सार्वजनिक भएपछि गीतकार मनुहाङ किरातीले समग्र नेपाली संस्कृति र सभ्यता बलियो बनाउन आदिवासी संस्कृतिको मौलिक सिर्जना हुनु आवश्यक रहेको बताएका छन् ।