वरिष्ठ साहित्यकार नरबहादुर दाहालको निधन भएकाे छ । आज (शुक्रबार) बेलुकी ६ बजे ८७ वर्षकाे  दाहालको निधन भएको हो ।

कालेबुङमा जन्मेका दाहाल केही महिनादेखि क्यान्सर रोगले ग्रसित थिए ।

अक्षरको खिप्तीमै जीवनका स्वर्णिम वय खर्चेका नरबहादुर दाहालका उन्माद (कविता सङ्ग्रह), बर-पिपल (कथा सङ्ग्रह), मध्यारातको तारा (उपन्यास), तिम्रो प्रीत नै मेरो गीत (कविता सङ्ग्रह), नरेन्द्र प्रसाद कुमाई (जीवनी), गङ्गाप्रसाद प्रधान (जीवनी), गोर्खा महानयाक डम्बरसिंह गुरुङ (जीवनी) र लभ यु जिन्दगी (कथा सङ्ग्रह) प्रकाशित छन्।

यसबाहेक उनका सवारी मेरो रेलैमा (नियात्रा), झलझली आँखामा (संस्मरण) र एक मुठी जून (कविता सङ्ग्रह) प्रकाशनोन्मुख छन्।

नेपाली साहित्यको विकास र संवर्धनमा पुऱ्याएको उल्लेखनीय सेवाका लागि उनी थुप्रै पुरस्कार र सम्मानद्वारा सम्मानित भएका थिए। मूर्धन्य साहित्यकार नरबहादुर दाहालको स्मरण शक्ति गजबको थियो । उनी पुराना कुराहरू मिति-सम्वाद केही भुल नगरी धाराप्रवाह सुनाउने गर्थे ।

कलिलो उमेरमै गोर्खाका सम्पादक बनेका दाहाल प्रखर समालोचक रामकृष्ण शर्मालाई गुरु मान्थे । साहित्य भनेपछि मरिमेट्ने उनी नेपाली भाषा-साहित्यका विद्यार्थीहरूलाई चाहिएका दुर्लभ पुस्तक आदि उपलब्ध गराइ सहयोग गर्न सदैव तत्पर रहन्थे।

दाहालका श्रीमती, चार छोरा, एक छोरी र नातानातिनी छन्।