साताकाे पुस्तककाे रूपमा साहित्यपोस्टलाई कवि, कथाकार तथा सम्पादक गोमविक्रमकृत एक अनुसन्धानात्मक कृति “मगर संस्कृति, परम्परा र गरिमा” प्राप्त भएकाे छ ।
२ सय १६ पृष्ठमा आबद्ध यस पुस्तक ‘मगर जातिको चिनारी’, ‘मगरी चाडपर्व, पूजा र दिवसहरू’, ‘मगर साहित्य’, ‘परम्परागत मगरी खेलकुद’लगायत १४ परिच्छेदमा विभाजन गरिएको छ । प्रत्येक परिच्छेदमा २ देखि २१ वटा उपशीर्षक समावेश छन् । सन्दर्भअनुसार विभिन्न अवसरका तस्बिरहरू समावेश गरिएको कारणले पनि पुस्तक जीवन्त रहेको छ ।
“मगर समुदाय जनसङ्ख्याको हिसाबले नेपालको तेस्रो ठूलो जाति र जनजातिहरूको हकमा पहिलो स्थानमा पर्दछ । मगरको बढी बसोबास भएको क्षेत्रलाई मगरात भनिन्छ । पहिले गण्डकीपूर्वलाई बाह्र मगरात र गण्डकीपश्चिमलाई अठार मगरात भनिन्थ्यो । बाह्र मगरातहरूको मुख्य थर थापा, राना र आले तथा अठार मगरातका मगरहरूको मुख्य थर पुन, घर्ती, बुढा र रोका हो । यसैगरी डोल्पा क्षेत्रमा बुढा, रोका र घर्ती थरका मगरको बसोबास रहेको छ । मगरका १५०० भन्दा धेरै उपथरहरू रहेको बताइएको छ ।” भूमिकामा प्रा. डा. कपिल लामिछाने लेख्छन्, “केही हिन्दू र केही मगर बौद्ध धर्म मान्दन्छन् । मूलतः मगर प्रकृतिपूजक समुदाय हो । केही मगरहरू तिब्बती बौद्ध धर्मको अनुसरण गर्दछन् । लामा गुरु पुरोहितको रूपमा हुन्छन् । केही मगरहरू हिन्दु धर्मका अनुयायी छन् । उनीहरू धामी झाँक्रीमा विश्वास गर्छन् । अद्यापि कैयौँ हिन्दु मन्दिरमा पुजारी मगर समुदायबाट रहने प्रचलन छ ।”
मनका कुरामा लेखक लेख्छन्, “पुस्तक तयार गरुञ्जेल कतिपय ठाउँ र अवसरमा जातियताका कुराहरू पनि नउठेका होइनन् भोगाइ जेसुकै भए पनि जातियताका कुरा उठाएर विवाद ल्याउने उद्देश्य लेखकका रत्ती होइन र त्यस रूपमा नलिइदिनु हुन सबैमा अनुरोध गर्दछु । मगर समुदायभित्र केही विवादित विषयहरू पनि नभएका होइनन् जस्तै दसैँ मनाउने सन्दर्भमा, मगर आदिकवि विषयमा, भाषिक, सांस्कृतिक लगायत मगरभित्रै पनि जातीय विभाजन ल्याइन थालिएको छ जस्तै पुनमगरहरू अहिले छुट्टै जातिमा रूपान्तरित हुन लागेका छन् ।”
भुँडीपुराणले प्रकाशनमा ल्याएको पुस्तकको मूल्य ४ सय ९० रहेको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।