बागलुङ । रण स्मृति पुरस्कार संस्थाको ३१ औँ वार्षिक उत्सवको अवसरमा साहित्यकार आकाश अधिकारीलाई शक्ति पुरस्कार समर्पण गरिएको छ । बालमन्दिर आधारभूत विद्यालय बागलुङको सभाहलमा आयोजित एक कार्यक्रमका बिच उक्त पुरस्कार अधिकारीलाई प्रदान गरिएको हो।

शक्तिबहादुर खड्काले आफ्नो बुबाको चिरस्मृतिमा रण स्मृति पुरस्कार संस्थामार्फत् वि.सं २०५० सालदेखि हरेक वर्ष यो पुरस्कार प्रदान गर्दै आइरहेका छन् ।

कार्यक्रमका अध्यक्ष बागलुङ नगपालिका उपप्रमुख राजु खड्काले सहित्यको क्षेत्रमा योगदान गर्ने व्यक्तित्वलाई प्रदान गरिने यो पुरस्कार आकाश अधिकारीलाई प्रदान गर्न पाउँदा खुसी लागेको बताए । पुरस्कृत व्यक्तित्वको परिचय राख्दै भीम रानाभाट मोफसलमा रहेर साहित्यकाे क्षेत्रमा क्रियाशील आकाश अधिकारीले संस्थागत रूपमा विभिन्न गतिविधि सञ्चालन गरी आफ्नो बेग्लै पहिचान बनाउन सफल रहेको बताए।

कार्यक्रमका विशिष्ट अतिथि सम्मानित व्यक्तित्त्व आकाश अधिकारीले आफ्नो योगदानको कदर स्वरूप प्राप्त पुरस्कारले हौसलाका साथै थप जिम्मेवारी बोध गराएकाे बताए ।

प्रमुख अतिथि, बागलुङ नगपालिका प्रमुख वसन्त कुमार श्रेष्ठले भानुभक्त आचार्य अध्ययन गर्न बाग्लुङ आउनुभएको किम्बदन्ती सुनाउँदै यस क्षेत्रमा भाषा साहित्यको खानी रहेको हुँदा साहित्यिक गतिविधि विस्तार गर्न पहल गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रमममा बाग्लुङ जिल्लामा अध्यनरत् कक्षा ८ मा उत्कृष्ट विद्यार्थीहरू रणबहादुर थापा र सितल बिक तथा एसईईमा उत्कृष्ट सुवास शर्मा र सिम्रन जिसीलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा दिवाकर भट्टराई, पदमबहादुर कार्की, राजन सापकोटा, काजी गाँउले, प्रेम शर्मा, दुर्गा आचार्य, प्रेम छोटालगायत सय बढी साहित्यकार, शिक्षक तथा अभिभावकको उपस्थिति रहेको थियो ।

कृपा पौडेलले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन भोजबहादुर खड्काले गरेका थिए।