
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, कतार च्याप्टर तथा नवोदित साहित्यिक वाचनालय कतारले स्रष्टासँग साक्षात्कार तथा साहित्यिक संवाद सम्पन्न गरेको छ । भ्रमणका क्रममा कतार आइपुगेका साहित्यपोस्टका प्रधानसम्पादक आश्विनी कोइरालासँग शुक्रबार साक्षात्कार तथा संवाद कार्यक्रम सम्पन्न भएको हो ।
कोइरालाको प्रमुख आतिथ्यता तथा कतार च्याप्टरका अध्यक्ष मणि पौडेलको सभापतित्वमा सम्पन्न संवादमा शेखर बस्नेत, सानु थपलिया, खेम सुवेदी, रूप रसाइली, विनोदबाबु अधिकारी, विनोद खड्का, दीप मिलन, लेख कार्की, सिताराम थापा, प्रेमप्रसाद भट्टराई, पूर्ण कान्छा गुरुङ, कल्याण थापा र नारायण भण्डारीलगायतले आफ्ना रचना वाचन गरेका थिए ।
संवादअन्तर्गत बाल्यकालका दुःखबाट आफ्नो भनाइ राख्न शुरु गरेका काेइरालाले जीवनका विभिन्न आयामबारे खुलेर बोलेका थिए । नेपालको एक सरकारी संस्थानमा जागिरे जीवन शुरु गरेका उनले लघुकथाबापतको रकम बुझ्न जाँदा कान्तिपुरमा जागिर पाएको स्मरण गर्दै त्यहाँ भित्रका विविध उतार चढावका बारेमा आफ्ना अनुभव सुनाएका थिए ।
घर, गाडी नजोडी नेपाली साहित्यका लागि आफूले जीवनभर कमाएको सबै साहित्यपोस्टमा लगाएको कोइरालाले बताए ।
शोभाराम ओलीले सहजीकरण गरेको कार्यक्रमको समापन सभापति पौडेलले गरेका थिए । कार्यक्रममार्फत आयोजक दुवै संस्थाले कोइरालालाई आजीवन सदस्यता प्रदान गर्दै सम्मान गरेका थिए ।
संवाद कार्यक्रममा कोइरालाको जीवनी समेटिएको छोटो वृत्तचित्रसहित स्वागत गरिएको थियो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

