हङकङ साहित्यिक साँझा शृङ्खलाको ११ औँ वार्षिकोत्सव पारेर विजय हितानको उपन्यास ‘लाहुरेको रेलिमाई’को हङकङ विमोचनन तथा विमर्श गरिएको छ । हालै हङकङको जोर्डनस्थित ब्लु ओसन रेस्टुरेन्टमा आयोजित कार्यक्रममा पुस्तकमाथि विमर्श गरिएकाे हाे ।
विमर्श कार्यक्रममा उपन्यासको समीक्षा डा. चुरा थापाले गरेका थिए । समीक्षाका क्रममा डा. थापाले यसभित्रका विषयवस्तुलाई आफूले उत्तर आधुनिकता, पहिचान र ऐतिहासिकताको दृष्टिकोणबाट केलाएको बताए । उनले उपन्यासका मूल पात्र मित्रसेनले अङ्ग्रेजको औपनिवेसिक हैकमवादी मानसिकतामाथि पटकपटक प्रश्न उठाएको कुरा बताए । गोर्खा लाहुरे मित्रसेनले प्रथम विश्युद्ध लड्दै गर्दा ‘मातृभूमिदेखि यति टाढा किन लड्न आएको छु ? मलाई कसले लड्न पठाएको छ ? यो मेरो राष्ट्रको लडाईं त हैन ।’ भनेर उपन्यासमा प्रश्न गरेको प्रसङ्गसमेत उनले कोट्याए ।
मन्तव्यका क्रममा उपन्यासकार विजय हितानले छ वर्षसम्म अध्ययन, अनुसन्धान र भ्रमण गरेर यो उपन्यास लेखेको बताए । प्रथम विश्वयुद्धमा अङ्ग्रेजले कुन कुन इन्डियन गोर्खाली पल्टनलाई कहिले र कुन कुन देशमा लगेर लडायो भन्ने कुरासहित युद्धको मानवीय संवेदनालाई आफूले आख्यानको रूपमा व्यक्त गरेको बताउँदै हितानले भने, ‘यो उपन्यास सर्वसाधारण पाठकले त पढ्ने नै छन्, सेवारत तथा सेवानिवृत्त लाहुरेहरूलाई पनि पढेर आफ्नो पुर्खाले छाडिगएको विरासतलाई बुझिदिन अनुरोध गर्छु ।’
कार्यक्रमको सभापतित्व शृङ्खलाका संयोजक रमण गुरुङले गरेका थिए भने प्रमुख अतिथि हङकङ नेपाली महासङ्घकी अध्यक्ष रीता गुरुङ थिइन् । कार्यक्रमको सञ्चालन शृङ्खलाका पूर्व संयोजक तथा सल्लाहकार टीबी याक्खाले गरेका थिए ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।