हङकङ साहित्यिक साँझा शृङ्खला समूहको ‘११ औं वार्षिक उत्सव–२०२३’ सम्पन्न भएको छ । आइतबार जोर्डनस्थित ब्लु ओसन रेष्टुरेण्टमा सम्पन्न वार्षिकोत्सव कार्यक्रमबाट रमण गुरुङ समूहको संयोजकका रूपमा चयन भएका छन् भने अरुणा शर्मा दोस्रो कार्यकालका लागि सहसंयोजकमा पुनः चयन भएकी छन् ।
रमण गुरुङ संयोजकमा पुन: चयन भएसँगै जिम्मेवारी बोध भएको बताए । ‘आगामी दोस्रो कार्यकालको लागि निर्विरोध रूपमा छनौट गरी शृङ्खलाको निम्ति थप सेवा गर्ने अवसर दिनुभएकोमा साझा शृङ्खला समिति प्रति आभार प्रकट गर्दछु । थप महत्पूर्ण जिम्मेवारीको बोध भएको महसुस पनि गर्न पुगेको छु’, संयोजक गुरुङले बताए ।
हङकङ नेपाली महासंघकी अध्यक्ष रिता गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको पहिलो चरणमा कार्यक्रममा हङकङका ३७ जना साहित्यकारहरुको विभिन्न विधाका सिर्जनाहरु समेटिएको कृति ‘श्रृंखला–६’ लोकार्पण गरिएको थियो ।
उक्त पुस्तकहरूमाथि शृङ्खलाका संरक्षक दाजु गुरुङले समिक्षा गरेका थिए ।
यसै ११ औं वार्षिकोत्सवदेखि हङकङ साहित्यिक साझा शृङ्खलाले हङकङका वरिष्ठ पत्रकार तथा सामाजिक अभियन्ता स्व. किसन राई स्मृति प्रतिभा पुरस्कारको पनि थालनी गरेको छ । उक्त पुरस्कारबाट हङकङलाई कर्मथलो बनाएर हङकङमै विगत दुई दशकदेखि सामुदायिक पत्रकारिता गर्दै नेपाली समुदायलाई योगदान पुर्याएका पत्रकार जगत अम्बु गुरुङलाई कवि जुनु राना मगरले पुरस्कार प्रदान गरेकी थिइन् ।
साथै, शृङ्खलामा संयोजक रमन गुरुङद्वारा स्व. पत्रकार किसन राईको परिवारलाई सम्मान गरिएको थियो ।
कार्यक्रमको दोस्रो चरणमा हङकङमा रहेर नेपाली भाषा, साहित्य, पत्रकारिता र समाजसेवाको क्षेत्रबाट नेपाली समुदायलाई विशेष योगदान दिँदै आएका विभिन्न व्यक्तित्वहरुलाई नगदसहित ताम्रपत्रद्धारा सम्मान गरिएको थियो । साझा शृङ्खलाले स्व. किसन राईको स्मृतिमा स्थापित ‘किसन राई स्मृति प्रतिभा पुरस्कार–२०२३’ द्धारा पत्रकार जगद अम्बु गुरुङलाई नगद हङकङ डलर १ हजार १ सय ११ सहित ताम्रपत्रद्धारा सम्मान गरेको थियो ।
स्व. किसन राईलाई मरणोमरान्त ‘नेपाली भाषा, साहित्य, पत्रकारिता तथा समाज सेवा पुरस्कार–२०२३’ द्धारा नगद हङकङ डलर १ हजार १ सय ११ सहित ताम्रपत्रद्धारा सम्मान गरिएको थियो ।
त्यस्तैगरी, ‘नेपाली भाषा तथा साहित्य सेवा पुरस्कार वर्ष २०२१–२३’ द्धारा शिक्षक तथा संचारकर्मी देवराज राईलाई नगद हङकङ डलर १ हजार १ सय ११ सहित तात्रपत्रद्धारा र नरजित राईलाई ‘मनका नदीहरु’ कवितासंग्रहका लागि ‘स्रष्टा र सृजना पुरस्कार वर्ष २०२१–२३’ द्धारा नगद हङकङ डलर १ हजार १ सय ११ सहित ताम्रपत्रद्धारा सम्मान गरिएको थियो ।
कार्यक्रममा साहित्यकार विजय हितान, देवेन्द्र खेरेस, किन्दर राई, भूपेन्द्र चेम्जोङ, एनआरएनए आईसीसीका महिला सचिव टिका गुरुङ, तमु ट्यो ह्युलका अध्यक्ष विजय गुरुङलगायतका विशेष अतिथिहरुहरुद्धारा शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रमको सभापतित्व संयोजक गुरुङले गरेका थिए भने पूर्व संयोजक एवं सल्लाहकार टोपबहादुर याक्खाले कार्यक्रम सञ्चालन गरेका थिए । यस्तै, पूर्व सहसंयोजक एवं सल्लाहकार पूर्णिमा शाहले स्वागत मन्तव्य राखेकी थिइन्।
नेपाली वाङ्मयको संरक्षण तथा संवर्धनका लागि विगत ११ वर्षयता प्रत्येक महिनाको अन्तिम आइतबार हङकङवासी नेपाली साहित्यिक सर्जकहरू भेला भई साहित्यिक विचार तथा विमर्श, सिर्जना वाचन, पुस्तक प्रकाशन, समीक्षा तथा विभिन्न साहित्यिक व्यक्तित्वहरूलाई सम्मान तथा पुरस्कृतसमेत गर्दै आइरहेको छ ।
सोही कार्यक्रममा हङकङ भ्रमणका क्रममा रहेका बेलायत निवासी भूपू ब्रिटिश गोर्खा सैनिक साहित्यकार तथा पर्या-अभियन्ता विजय हितानको उपन्यास ‘लाहुरेको रेलिमाई’ सार्वजनिक गरिएको थियो । उक्त पुस्तकमाथि शिक्षक तथा संचारकर्मी डा. चुरा थापाले टिप्पणी राखेका थिए ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।