साताका पुस्तकका रुपमा साहित्यपोस्टलाई उपन्यासकार शंकर भारतीको सामाजिक उपन्यास “अनुपम-देवता” प्राप्त भएकाे छ ।
तेस्रो संस्करण बजारमा आउन सफल यस उपन्यासमा मानवका सबल र दुर्बल पक्षहरू केलाउँदै मानिसले भोग्नै पर्ने आशा-निराशा, लाभ-हानी, सुख-दुःख, जीवनका उकाली-ओराली, प्राप्यता-अप्राप्यता, जीवन-मरण, हाँसो-आँसु आदिलाई सन्तुलित रूपमा उतारेका छन् ।
भूमिकामा डा. मधुसूदन लामिछाने लेख्छन्, “श्रीमद्भगवत् गीतामा श्रीकृष्णले अर्जुनलाई कर्मयोगको अतुलनीय ज्ञान दिएका छन् । जहाँ सत्कर्ममा समर्पित हुनुपर्दछ । सत्कर्म गर्नाले अवश्य पनि सो कर्मअनुसारको फल अवश्य प्राप्त हुन्छ । प्रस्तुत ‘अनुपम देवता’ उपन्यासमा पनि भावना र भाष्करले पढाइको परिणामलाई ध्यान नदिई पढाइतर्फ मात्र केन्द्रित भएका छन् । विद्यार्थीहरूको कर्मयोग समयको सदुपयोग गरी शिक्षा आर्जन गर्नु हो । भावना तथा भाष्करले सही समयमा सही शिक्षा आर्जन गरी बेलायत जस्तो विकसित मुलुकमा छात्रवृत्ति पाई पढ्ने अवसर प्राप्त गरेका छन् ।”
भूमिकामा डा. रामदयाल राकेश लेख्छन्, “समीक्ष्य उपन्यासमा वर्तमान नेपाली समाजको एउटा जल्दोबल्दो समस्यालाई उठाइएको छ । त्यो हो चेलीबेटीको क्रय विक्रयको सुभद्रा पनि उसै समस्याको शिकार भएर अभिशप्त जीवन बिताउनका लागि बाध्य भएकी छ । उसको रामकहानी धेरै दर्दनाक छ जसबाट ऊ आज यस्तो दयनीय अवस्थामा पुगेकी छे ।”
ग्लोबल बुक्स डिस्ट्रिब्युटर्सले प्रकाशन गरेको २ सय पृष्ठमा फैलिएको पुस्तकको मूल्य ४ सय रुपियाँ रहेको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।