विद्यामन्दिर पुस्तकालय, बागलुङले १६ औँ राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा बुधबार ‘किन पढ्ने पुस्तक ?’ विषयमा विमर्श कार्यक्रम आयोजना गरेको छ । विमर्श कार्यक्रममा बोल्दै लेखक गनेस पौडेलले असल, जिम्मेवार र चिन्तनशील नागरिक निर्माण गर्न पुस्तकको ठुलो महत्त्व भएको बताउनुभयो ।
पुस्तक पढ्नु आफ्नो दैनिकी बनिसकेको बताउँदै आफूलाई प्रत्येक दिन किताब पढ्ने लत बसेको बताउनु भयो । ‘जसरी चिया खाइन्छ, खाना खाइन्छ, मर्निङ वाक गरिन्छ त्यस्तै गरी किताब पढ्न पनि संस्कार बसेको छ ।’, पौडेलको भनाई थियो ।
पुस्तकसँगको सङ्गत अविरल भएको र संसारका जति पनि सफल धनी, खेलाडी, नेता, वैज्ञानिक, प्रशासनक, शिक्षक, कवि, लेखक छन् उनीहरुले सृजनशील र गहन कृतिहरुको अध्ययन गरेको हुन्छन् पौडेलले बताउनुभयो ।
नेपालमा अनावश्यक प्रचारको भोक र हतारमा लेखक बन्ने होडले बजारमा खराब पुस्तकहरु पनि आइरहेको र त्यसले पठन संस्कृतिमा नराम्रो असर परेको औँल्याउनु भयो ।
समाजलाई चाहिनेभन्दा नचाहिन पुस्तक बढी प्रकाशन हुँदा पढ्नेले पढ्न छाडेको बताउनु भयो । पुस्तक पठन संस्कृतिको विकासको लागि घर, समाज, विद्यालय, विश्वविद्यालय र पुस्तकालयले विद्यार्थीहरुबिच अन्तरसंवाद र छलफल निरन्तर चलाउनु पर्ने बताउनुभयो ।
आधुनिक प्रविधिको अहिलेको युगमा पुस्तक र पुस्तकालयको स्वरुप बदलिएकोले यस परिवर्तनलाई आत्मासाथ गरेर पुस्तकालयको सेवालाई डिजिटल माध्यममा लगेर पुस्तकालय नआउने पाठकलाई पनि जोड्नु पर्ने पौडेलले पुस्तकालयका सञ्चालकहरुको ध्यानकर्षण गराउनु भयो ।
सो कार्यक्रमको सहजीकरण पत्रकार आरके अदीप्त गिरीले गर्नुभएको थियो ।
विद्यामन्दिर पुस्तकालय बागलुङले सामाजिक तथा शैक्षिक संस्थाहरुसँगको सहकार्यमा पठन संस्कृतिको विकास गर्ने उदेश्यले विमर्श कार्यक्रम आयोजना गरेको हो । कार्यक्रमको उद्घाटन गर्दै बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्तकुमार श्रेष्ठले ज्ञान आर्जनमा पुस्तकालयको महत्वपूर्ण भूमिका रहने बताउनु भयो ।
पुस्तकालय ज्ञानको भण्डार रहेको भन्दै पुस्तकालयहरु युग सुहाउँदो व्यवस्थापन हुन बाँकी रहेको बताउनुभयो । नयाँ पुस्तालाई विद्यार्थी जीवनदेखि पुस्तकालय गएर अध्ययन गर्ने संस्कृतिको विकास गर्न आवश्यक रहेको जोड दिनुभयो ।
हरेक विद्यालय तथा शैक्षिक संस्थाहरुमा सुविधायुक्त पुस्तकालयको अवधारणालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्ने बताउनु भयो ।
विद्यामन्दिर पुस्तकालय, बागलुङले १६ औँ राष्ट्रिय पुस्तकालय दिवस पाँच दिवसीय कार्यक्रमसहित मनाई रहेको छ ।
तेश्रो दिन भएको कार्यक्रम विद्यामन्दिर पुस्तकालयको मुख्य आयोजना, लायन्स क्लव अफ धवलागिरि, रोटरी क्लव अफ बागलुङ र बागलुङ जेसीजको आयोजना र बागलुङ नगरपालिका तथा बैङ्कर्स बागलुङको सहकार्यमा सम्पन्न भएको थियो ।
सो कार्यक्रमको संचालन विद्यामन्दिर पुस्तकालयका अध्यक्ष राम थापाले गर्नु भएको थियो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।