चलचित्र विकास बोर्डको आयोजनामा ‘राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान २०८०’ सम्पन्न भएको छ ।  राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेल र सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माको आतिथ्यतामा उक्त सम्मान कार्यक्रम सम्पन्न भएको हो ।

सो कार्यक्रममा राष्ट्रिय चलचित्र पुरस्कार वितरण गरिएको छ ।

‘दीर्घ साधना सम्मान’ २०७८ बाट अभिनेत्री लक्ष्मी गिरी र ‘दीर्घ साधना सम्मान’ २०७९ अभिनेता शिव श्रेष्ठलाई प्रदान गरिएको छ । दुवैलाई तीन लाख ७५ हजारसहित सम्मान गरिएको हो ।

‘महापुरुष’बाट हरिवंश आचार्य उत्कृष्ट अभिनेता घोषित हुँदा ‘प्रकाश’बाट दीया मास्के उत्कृष्ट अभिनेत्री घोषित भएकी छन् ।  ‘प्रकाश’का निर्देशक दिनेश राउत उत्कृष्ट निर्देशक घोषित हुँदा ‘चिसो मान्छे’का लागि दिपेन्द्र के. खनाल उत्कृष्ट लेखक घोषित भए ।

यस्तै, निर्णायकमण्डलको तर्फबाट ‘ऐना झ्यालको पुतली’ र ‘गोर्खा विनिथ द ब्रेभरी’लाई विशेष चलचित्रका रूपमा ‘निर्णायक पुरस्कार’ प्रदान गरिएको छ ।

राष्ट्रिय चलचित्र पुरस्कारमा उत्कृष्ट फिल्म विधा समावेश नगरी अवार्ड वितरण गरिएको थियो ।

बोर्डले २०७८ र २०७९ गरी दुई वर्षमा प्रदर्शन भएका नेपाली फिल्महरूमध्येबाट छनोट गरी राष्ट्रिय चलचित्र पुरस्कार वितरण गरेको हो ।

उक्त समारोहमा फिल्म क्षेत्रमा विशेष योगदान दिएको भन्दै कलाकार किरण केसी, अर्जुन श्रेष्ठ, रामचन्द्र अधिकारी, अर्जुनजंग शाहीसहित ३५ जना फिल्मकर्मीलाई विशेष सम्मान प्रदान गरिएको छ।

राष्ट्रिय चलचित्र पुरस्कार २०७८ र २०७९ को विजेता सूची:
१. उत्कृष्ट लेखन-  चिसो मान्छे (दिपेन्द्र के खनाल)
२. उत्कृष्ट छायांकन- लप्पन छप्पन–२ (पुरूषोत्तम प्रधान)
३. उत्कृष्ट सम्पादन- दोख (निमेष श्रेष्ठ)
४. उत्कृष्ट अभिनेत्री- प्रकाश (दिया मास्के)
५. उत्कृष्ट अभिनेता- महापुरुष (हरिवंश आचार्य)
६. उत्कृष्ट निर्देशक- प्रकाश (दिनेश राउत)
७. उत्कृष्ट चलचित्र (आदिवासी, जनजाति, विभिन्न मातृभाषी)  हुलन छ्याँबा (देशै राम्रो) गुरूङ भाषा
८. निर्णायक विशेष छनोट- ऐना झ्यालको पुतली
९. निर्णायक विशेष छनोट- गोर्खा विनिथ द ब्रेभरी