लेखक खगेन्द्र संग्रौलाले फेसबुक चलाउँदैनन् । ट्विटर (हालको एक्स) मा चाहिँ उनी सक्रिय छन् ।
यद्यपि, उनकै नाममा १ लाख ८ हजार फलोअर्स भएको फेसबुक प्रोफाइल सक्रिय छ । त्यसमा संग्रौलाकै लेखहरू शेयर गरिएका छन् भने उनका केही ट्विटहरू कपी गरी पोस्ट गरिएका छन् । केही स्टाटसचाहिँ संग्राैलाले प्रयोग गर्ने भाषाजस्तै गरी लेखिएका छन् ।
अहिले संग्रौलालाई यही फेसबुक प्रोफाइलले टाउको दुखाएको छ । समसामयिक सामाजिक, राजनीतिक विषयमा टिप्पणी गर्ने संग्रौला ‘एन्टी करेन्ट’ व्यक्तित्वका रूपमा पनि चिनिन्छन् । नेपाली समाजमा ‘एन्टी करेन्ट’ हुनु भनेकाे गालीको बाढी छिचाेल्नु पनि हाे । तर, संग्राैलाकै नाममा रहेकाे फेसबुकमा उनले लेख तथा सार्वजनिक मञ्चमा राख्ने विचारविपरीतका पाेस्टहरू देखिन्छन् । विभिन्न समयमा गरिएका ती पोस्टमुनि गरिएका कमेन्ट हेर्दा यो कुरा थाहा पाउन मुस्किल पर्दैन, ती विचार संग्रौलाकै हाे भनेर मान्नेहरू धेरै छन् ।
त्यसैले लेखक संग्रौलाले एक्समा प्रस्टीकरण दिँदै लेखेका छन्, ‘म फेसबुक चलाउँदिनँ । मेरो नाममा फेसबुकमा कसैले अनर्गल कुरा लेखेर भ्रम फैलाउन खोज्या छ भन्ने कुरा एक मित्रबाट सुनेँ । त्यो मेरो फेसबुक होइन, त्यो म होइन ।’
उनकाे नाममा रहेकाे फेसबुक खासमा उनकै पाठक भनिएका कसैले चलाउँदा रहेछन् । प्राेफाइलकाे परिचय (इन्ट्रो) मा लेखिएको छ, ‘यो पेज उनकै एक पाठकद्वारा सञ्चालित छ ।’
#शिलापत्र
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।