कथाकार शालिकराम दाहालको पहिलो कृतिका रूपमा तयार भएको परिचय कथासंग्रह सार्वजनिक गरिएको छ । लेखनाथ पुस्तकालय चन्द्रगढीको आयोजनामा भद्रपुर कला साहित्य प्रतिष्ठानका अध्यक्ष चिन्तामणि दाहालले सो कथासंग्रह सार्वजनिक गरेका हुन् ।
लेखनाथ पुस्तकालयका सभापति हरिप्रसाद न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पुस्तकको समीक्षा गर्दै सहप्राध्यापक चुडामणि वशिष्ठले कथा संग्रह भित्र नेपाली समाजका विसंगतिमाथि प्रहार गर्दै संगति खोज्ने प्रयास भएको बताएका छन् ।
समीक्षक वशिष्ठले कथा संग्रहले वैदेशिक रोजगारबाट सिर्जित समस्या, राजनीति भित्रका पाखण्डीपन, सामाजिक तथा जातीय विभेद, गउँले जनजीवन र बोलीचाली टिपिएर तयार भएको कथाले सांकेतिक राष्ट्रवाद समेटे पनि अहिलेको थेत्तरो सामाजिक विकृतिलाई ठेगान लगाउन नसकेको टिप्पणी गरेका छन् ।
खगेन्द्रा खुसीले सञ्चालन गरेको कार्यक्रममा पुस्तक भित्रका समीक्षक प्रा. डा. गंगाप्रसाद अधिकारी तथा सहप्राध्याकप देवीप्रसाद आचार्यले कथा संग्रह कथाकारको पहिलो कृति भए पनि विषय उठानमा अब्बल रहेको धारणा राखेका थिए ।
पुस्तकालयका सचिव हरिकिशोर आचार्यले स्वागत गरेको कार्यक्रममा विभिन्न कवि कवयत्रीहरूले आ—आफ्ना कविता समेत वाचन गरेर सुनाएका थिए ।
भद्रपुर स्थित मेची बहुमुखी क्याम्पसको स्नाकोत्तर तहको तेस्रो सेमेस्टरका विद्यार्थी तथा सेन्ट जेभियर स्कुल विर्तामोड ८ देउनियाका नेपाली भाषा शिक्षक समेत रहेका दाहालले वर्तमान समयको चित्रण गर्दै १० वटा कथालाई पुस्तकार रूप दिएर तयार पारेका छन् ।
उनले कथामा जीवनका व्यथालाई टिपेर यथार्थ चित्रण गर्ने प्रयास गरेको भन्दै पहिलो कृतिमा केही कमीकम्जोरी हुन सक्ने बताएका छन् ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।