साहित्यकार ईश्वरमणि अधिकारीको चौथो साहित्यिक कृति ‘सम्बोधिका’ मुक्तकसङ्ग्रह लोकार्पण भएको छ । एक समारोहका बिच वरिष्ठ साहित्यकारद्वय सरुभक्त र तीर्थ श्रेष्ठले संयुक्त रूपमा उक्त कृति विमोचन गरेका हुन् ।

पुस्तक लोकार्पण गर्दै वरिष्ठ साहित्यकार सरुभक्तले नेपाली मुक्तक संसारमा सशक्त पुस्तक पस्केर अधिकारीले हस्तक्षेपकारी उपस्थिति जनाएको बताए । मुक्तक लेखनका विविध शैलीहरू रहेकामा अधिकारीले रुवाइ शैलीमा मुक्त शैलीको समेत मिश्रण गरेर सुन्दर मुक्तक लेखेको बताए ।

साहित्यका विविध विधाहरूमा संरचनागत विवाद हुने गरेकोप्रति लक्ष्य गर्दै उनले संरचनाभन्दा पनि कृतिको गहनतातर्फ लेखकले बढी ध्यान दिनुपर्नेमा उनले जोड दिए ।

कवि तीर्थ श्रेष्ठले मुक्तक लेखनमा सशक्त उपस्थिति देखाउँदै अधिकारीले नयाँ कृति पस्केकामा निकै खुसी लागेको बताए । वर्तमानमा लेखकहरू संरचनाको पछाडि दौडने चलन संस्कृति नै बन्दै गएको उनले बताए । यसले साहित्य क्षेत्रलाई असर पार्दै गएको बताउँदै उनले लेखकले साधना गर्नतिर ध्यान दिनुपर्ने बताए ।

कृतिको समीक्षा गर्दै सञ्जीव पौडेलले कृतिमा प्रेम, राजनीतिक विकृति, सामाजिक विसङ्गति, समयको महात्म्य, जीवनमूल्य, न्याय, मातृभक्ति, प्रकृतिप्रेमलगायतका विषयमा केन्द्रित मुक्तक समावेश भएको बताए । प्रेम शाश्वत रहेकाले प्रेम पुरानो र प्रेमीप्रेमिका भूतपूर्व हुँदैनन् भन्ने प्रेमदर्शन प्रस्तुत भएको र यो नै सङ्ग्रहको केन्द्रीय विचार रहेको बताए ।

नेताहरूको पैसामोह, पदको रवाफ, विगत भुल्ने आदि प्रवृत्ति बढेका कारण आन्दोलनमा जनताहरूले बलिदानी दिएर सहिद बनेको पनि बेकार भएकोमा असन्तुष्टि पोखिएको बताएका छन् ।

स्वार्थी मित्रता, पैसामुखी समाज, बसाइँसराइको प्रभाव, सहरीकरण, मान्छेमा हराउँदै गरेको मानवता आदि सामाजिक पक्षलाई मुक्तकले सम्बोधन गरेको छ । समयभन्दा बलवान केही नभएकाले समयसँगै निरन्तर हिँडिरहने प्रयत्न गर्नुपर्नेमा जोड दिइएको छ ।