साताका पुस्तकका रुपमा साहित्यपोस्टलाई नेपाली साहित्यका विविध विधाको अध्ययनमा संलग्न मोहन के. श्रेष्ठद्वारा लिखित पहिलो उपन्यास “माया मिस्ट्री” प्राप्त भएकाे छ ।
१ सय १६ पृष्ठमा मौलाएको यस उपन्यासमा म पात्र अर्थात् दीपकको मनोद्वेग व्यक्त गरिएको छ । त्यस अभिव्यक्तिमा प्रेम, समाज र भौतिक सुख तथा अभिभावकको प्रेमप्रतिको धारणालाई सहज भाषामा पाइन्छ ।
“जीवन र प्रेमको अन्योन्याश्रित सम्बन्धको वर्णन गर्दै प्रेमिकासँग सिनेमा हेर्न गएको तर नायकनायिकाको बिछोड हुँदा डराएका रोचक प्रसङ्गको वर्ण पनि यसमा गरिएको छ । यसमा प्रेम गरेको दुई वर्ष बितेको, जाँच बिग्रेको, थोरै जिम्मेवारी बोध भएको, जीवनबारे सोच्दै जाँदा रमाउने कि कमाउने भनी द्विविधामा परेको तथा भविष्य र प्रेमबारे चिन्तित रहेको प्रस्टोक्ति छ ।” भूमिकामा डा. सीता सुवेदी पन्थी लेख्छिन्, “पुरुषले बढी जिम्मेवारी लिनुपर्ने सामाजिक संरचनाका कारण प्रेमभन्दा पनि म पात्रलाई भविष्यको चिन्ताले सताएको छ । कतै कतै प्रमुख पात्रको मनस्थिति कर्मवाद र भाग्यवादको दोसाँधमा रहेको देखिन्छ । परिवार, प्रेम र पढाइलाई कोण नमिलेको त्रिभुजका रूपमा लिइएको छ । युवावस्था बढ्दै जाँदा समस्या र चुनौती थपिएकाले जीवनयात्रा कठिन बन्दै गएको प्रसङ्गबाट म पात्रमा रहेको जीवनचेत प्रकट भएको छ । त्यसै गरी बाढीपीडितलाई सहयोग सङ्कलन गर्न हिँडेको प्रसङ्गबाट समाजप्रतिको सचेतता तथा समाजसेवाको भाव प्रस्तुत भएको छ ।”
पुस्तकको पछिल्लो पृष्ठमा लेखिएको छ, “अहिले म ताराहरूको रात देख्छु । ताराहरू आकाशमा गएर रातलाई नै उज्यालो बनाइदिएको मान्छु । उ…त्यो पर…टिलिक्क चम्किरहेको तारा मेरी आमा हुन् । मेरी मात्र होइन, अपवादबाहेकका सबैकी आमा आकाशमा होस् या धरतीमा, चम्किरहेकै हुन्छन् ।”
अनुशीलन नेपालबाट प्रकाशित पुस्तकको मूल्य ३ सय २५ रुपियाँ रहेको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।