साताका पुस्तकका रुपमा साहित्यपोस्टलाई सङ्कलक केसर लालद्वारा सङ्कलित कथासङ्ग्रह “करुणामयका कथा” प्राप्त भएकाे छ ।

६९ पृष्ठभित्र ‘करुणामय’, ‘चाकुबहाद्य’, ‘भोटोजात्रा’, ‘सत्यवादी नाग’हरू समावेश छन् । साथै परिशिष्टका रूपमा पण्डित चक्रपाणि चालिसेद्वारा रचित दुर्लभ कृति ‘मछिन्द्रनाथको कथा’ पनि सङ्ग्रहित छ ।

“कुनै पनि देशको संस्कृतिको इतिहास हुन्छ । त्यो इतिहास लिखत वा किंवदन्तीको रूपमा पनि विद्यमान रहन्छ । नेपालमा सांस्कृतिक रीतिरिवाजको आफ्नै इतिहास छ । यसले देशको संस्कृतिलाई जीवन्त मात्र होइन अक्षुण्ण पनि राख्छ ।” पुस्तकको पछिल्लो पृष्ठमा लेखिएको छ, “दन्त्यकथा जस्तो लाग्ने नेपालमा अत्यन्त लोकप्रिय ऐतिहासिक परम्परामध्ये ‘करुणामय’को कथा अत्यन्त महत्त्वपूर्ण छ । यसले काठमाडौँ उपत्यकाको ऐतिहासिक चाडबाड र महत्त्वलाई जीवन्त राखेको छ । कल्याणकारी देवता करुणामय मछिन्द्रनाथ, लोकनाथ, बुङ्गद्यका नामले पनि प्रसिद्ध छन् । यस पुस्तकमा त्यस्तै प्राचीन उत्सवहरूको उद्गम र उद्भवबारे मनोरञ्जक शैलीमा वर्णन गरिएको छ । आशा छ जिज्ञासु पाठकहरूलाई यसले ज्ञानको साथै मनोरञ्जन पनि प्रदान गर्नेछ ।”

पुस्तकलाई रत्न पुस्तक भण्डारले बजारमा ल्याएको हो ।