पन्त स्मृति प्रतिष्ठानले विभिन्न विधामा विशिष्ट योगदान गर्ने व्यक्तित्वहरूलाई सम्मान तथा पुरस्कार समर्पण गरेको छ । नेपाल संस्कृत विश्वविद्यालयका पूर्व उपकुलपति आचार्य पूणर्चन्द्र ढुङ्गेलको प्रमुख आतिथ्यमा उक्त सम्मान तथा पुरस्कार समर्पण गरिएको हो ।
उक्त अवसरमा ‘ओताओडा’ उपन्यासकी लेखिका जानुका खतिवडा र चित्रकला विधामा योगदान पुर्याएका रुपक राईलाई २५ हजार नगद राशिका साथमा सम्मान गरिएको छ भने हास्यव्यङ्ग्यका हस्ती शैलेन्द्र सिम्खडा र साहित्यिक पत्रकारितामा योगदान गर्ने ‘शिवपुरी सन्देश’का सम्पादक वियोगी बुढाथोकीलाई ५० हजार नगद राशिसहित सम्मान गरिएको छ ।
त्यस्तै, संस्कृति विधामा योगदान गर्ने शशी थापा पण्डितलाई १५ हजार नगद राशिसहित सम्मान गरिएको छ भने नेपाली समालोचना विधामा योगदान गर्ने प्रा.डा. भागवत ढकाल, सुस्तश्रवण भएर पनि सम्बन्धित संस्थामा विशिष्ट योगदान पुर्याउने कोपिला हुमागाईं, बालसाहित्यको क्षेत्रमा योगदान गर्ने गोपाल पराजुली र विद्यालयस्तरीय बालनृत्यमा उत्कृष्ट प्रदर्शन गर्ने सीता बराललाई १० हजार नगद राशिसहित सम्मान गरिएको छ ।
यसैगरी, प्रतिष्ठानले विभिन्न विद्यालयहरूका बालबालिकाबाट लेख-रचनाहरू आह्वान गरेअनुसार प्राप्त भएका रचनाहरूमध्येबाट उत्कृष्ट ठहरिएकालाई समेत पुरस्कृत गरेको छ । बालप्रतिभा पुरस्कारका रुपमा पद्य विधातर्फ नन्दी माविकी छात्रा मीना तामाङ र गद्य विधातर्फ पशुपति माविकी छात्रा सीता तामाङलाई ५-५ हजार पुरस्कार प्रदान गरेको छ ।
साथै, प्रतिष्ठानले विभिन्न छात्रछात्राहरूलाई छात्रवृत्ति पनि प्रदान गरेको छ ।
सोही अवसरमा प्रतिष्ठानको वार्षिक मुखपत्र ‘नवज्योति’को पनि लोकार्पण गरिएको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।