अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (नेपाल) को महाधिवेशनले राजेन्द्र केसीलाई अध्यक्ष पदमा निर्वाचित गरेको छ । फिल्मकर्मी, कवि तथा लेखक केसी निर्विरोध रुपमा अनेसास (नेपाल) को अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।
केसीको नेतृत्वमा नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा मन्जिला शर्मा र निर्मलरमण पराजुली निर्वाचित भएका छन् भने महासचिवमा रन्जना निरौला निर्वाचित भएकी छन् । त्यस्तै, सुशीला खड्का ‘हसिना’ सचिव र कमला रिसाल कोषाध्यक्ष पदमा निर्वाचित भएका छन् ।
त्यसैगरी, सदस्यहरुमा आकाश अधिकारी, शान्तिमाया गिरी, डी.आर., शान्ति न्यौपाने रिसाल, दुर्गाबहादुर शाह ‘बाबा’, सीता विष्ट कार्की, हिरयण्यलाल ज्ञवाली, सुमन वर्षा, सुचिता काफ्ले द्वारिका कुइँकेल र इन्दिरा ढकाल निर्वाचित भएका छन् ।
त्यस्तै, नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले रिषभदेव घिमिरे, मधु पाठक, केभी स्मित, निर्मला कोइराला र कल्पना खरेललाई सदस्यमा मनोनित गरेको छ ।
प्रस्तुत छ, अनेसास (नेपाल) का नवनिर्वाचित अध्यक्ष राजेन्द्र केसीसँगको संवादः
अनेसास नेपालको अध्यक्ष पदमा निर्विरोध निर्वाचित हुनुभयो । कस्तो महसुस गरिरहनुभएको छ ?
एउटा जिम्मेवारी पाएको छु । यसभित्रका जुन चुनौतीहरु छन् तीचाहिँ धेरै जटिल छन् । त्यसलाई सहजताका साथ सम्पन्न गर्न सकिन्छ कि सकिँदैन भन्ने मलाई त चिन्ता पो लागेको छ । अहिले साहित्य क्षेत्रमा लागेका लेखक, साहित्यकारहरुको जुन इच्छा–आकांक्षाहरु छन्, अनेसासबाट जुन कुरा उहाँहरुले खोज्नुभएको छ, त्यो कुरा मैले दिनु सक्छु कि सक्दिनँ ? – मैले एकदमै चिन्तन गरिरहेको छु ।
अनेसास नेपाललाई अगाडि बढाउन के–कस्ता योजनाहरु छन् ?
– सबैभन्दा पहिले त जुन हाम्रो नेपाली भाषा, साहित्य, कला र संस्कृति छ यसलाई संवर्धन र प्रवद्र्धन गर्ने नै हो । अरु धेरै ठुला अपेक्षाहरु छैनन् । हाम्रो नेपाली भाषा र संस्कृतिलाई संसारभरि कसरी चिनाउने भन्नेमा मेरो ध्यान केन्द्रित छ । अर्को, अहिले विदेशमा रहेका डायस्पोरिक नेपालीमूलका बालबालिकहरु छन् उनीहरुलाई नेपाली भाषा र संस्कृतिबारे धेरै कुरा थाहा छैन । विदेशतिर गएर बसेका डायस्पोरिक नेपाली लेखकहरु हुनुहुन्छ, उहाँहरुद्वारा ती बच्चाहरुको बिचमा पुर्याउनु पनि महत्त्वपूर्ण छ ।
त्यस्तै, लेखन क्षेत्रमा लागेका नेपाली साहित्यकार तथा साहित्यानुरागीहरुलाई कसरी संरक्षण गर्न सकिन्छ, कसरी उहाँहरुको लेखनलाई अगाडि कसरी बढाउन सकिन्छ, संसाभरि कसरी पुर्याउन सकिन्छ भन्ने कुरामा पनि मेरो ध्यान केन्द्रित रहने छ । साथै, देशभरिका लेखक तथा साहित्यकारहरुलाई एकताबद्ध गराउने कुरा पनि मेरो कार्ययोजनामा पर्छ ।
साहित्यिक संस्थाहरुको काम पुरस्कार, सम्मान र पदक वितरणमै सीमित हुने गरेको नजिर छ । तपाईँको कार्यकालमा केही फरक हुन सक्ला ?
– योचाहिँ यस्तो होला, कोही पनि मान्छेले काम गरेपछि त्यसबापत केही न केहीको अपेक्षा राखेकै हुन्छ, र पुरस्कार, सम्मान जस्ता कुराहरु चाहिन्छन् पनि । सीमित लेखकबाहेक साहित्य लेखेर पैसा कमाउने कुरा हाम्रोमा कल्पना गर्न सकिँदैन । यस्तो अवस्था पुरस्कार र सम्मानको महत्त्व झनै विशेष हुन्छ । त्यसैले यो मलाई नराम्रो लाग्दैन र निन्तरता दिने पक्षमा नै छु ।
तर त्यसमै मात्र अल्झिने भन्नेचाहिँ हुँदैन । मैले माथि पनि भने, त्यसबाहेक पनि हामीले गर्नु पर्ने कुराहरु धेरै छन् । अग्रज, समकालीन तथा अनुज लेखकहरुले के कुरा खोजिरहनुभएको छ भन्ने कुरा मेरा लागि प्रमुख कुरा हो । अनुज पुस्तालाई अग्रज पुस्तासँग जोड्दै उनीहरुलाई संरक्षण गर्दै लाग्नु पनि मेरो उदेश्यभित्र पर्नेछ ।
तपाईँलाई निर्विरोध रुपमा जिताउने अनेसासमा आबद्ध साथीहरुलाई के भन्न चाहनु हुन्छ ?
– मैले अघि पनि भनिहालेँ – मलाई साथीहरु जुन तरिकाले साथ–सहयोगका साथ जिताउनु भयो त्यसका लागि म कृतज्ञ छु । अहिले संसारभरिबाट मलाई समर्पण, शुभकामना आइरहेको छ त्यसमा मैले उहाँहरुको मप्रतिको विश्वास पाएको छु । यसले चाहिँ केही गर्छ भन्ने उहाँहरुको जुन विश्वास छ, त्यो विश्वासलाई कामले तिर्ने छु । यो कुरामा म प्रतिबद्धता जनाउन चाहन्छु । र, मलाई यो जिम्मेवारी सुम्पनु हुने सम्पूर्ण साथीहरुप्रति आभारी छु भने सबैबाट फेरि पनि साथ–सहयोगको अपेक्षा पनि राखेको छु ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।