
उदयपुरको त्रियुगा नगरपालिका ३ निवासी सहित्यकार श्यामकर्ण राईको ६२ वर्षको उमेरमा शुक्रवार बिहान निधन भएको छ ।
राईलाई बिहिबार बिहान घरको करेसाबारीमा बोटविरुवा गोडमेल गर्नेक्रममा रक्तचाप न्यून भएपछि उपचारका लागि उदयपुर जिल्ला अस्पताल लगिएको थियो । तर चिकित्सकले मुटुको समस्या भएकोले विराटनगर स्थित न्युरो अस्पताल लैजान सुझाव दिएअनुसार थप उपचारका लागि विराटनगर लगिएको थियो । उपचारकै क्रममा न्यूरो अस्पतालका चिकित्सकले मुटुले काम गर्न छाडेकाले घर लैजान सुझाव दिएपछि घर ल्याउने तयारी गर्दा गर्दै विराटनगरमै राईको निधन भएको परिवारजनले बताए ।
लामो समय नेपाल सरकारको स्वास्थ्य सेवा विभाग अन्तर्गतको स्वास्थ्य चौकीमा रहेर सेवा गर्नुका साथ पछिल्लो समयमा नेपाल सरकारको विदेशी दातृ निकायको सहयोगमा सञ्चालित ग्रामिण क्षेत्रको सडक पूर्वाधार कार्यक्रमको जिल्ला संयोजक भई काम गरेर अवकाशको जीवनयापन गरिरहेका राईको गत वर्ष दुई थान पुस्तक प्रकाशित भएको थियो ।
२०१८ सालमा माघ २० गते उदयपुरको लाफागाउँ हालको रौतामाई गाउँपालिका वडा नं ३ मा जन्मिएका राईले समाजशास्त्रमा स्नातकोत्तर गरेका राई पछिल्लो समयमा कथा संग्रह प्रकाशनको तयारीमा लागेका थिए । उनी उदयपुर साहित्य कला प्रतिष्ठानको संस्थापक सदस्यका साथै कार्यसमितिका सक्रिय सदस्य समेत रहेका थिए ।
लामो समयदेखि मधुमेह तथा रक्तचापका कारण बिरामी भैरहने राईका श्रीमती तीन छोरा र एक छोरी मध्ये दुई छोरा विदेशमा रहेका छन् । राईको आज किरात परम्परा अनुसार अन्त्येष्टि गरिने छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

