थाई नेपाली सङ्घद्वारा आयोजित कार्यक्रमका बिच काठमाडौँमा पुस्तक ‘थाइल्याण्डमा नेपालीहरूको इतिहास’ लोकार्पण गरिएको छ । थाइल्याण्डका नेपाली आप्रवासीहरूका कथा समेटिएको उक्त पुस्तकको विमोचन संस्कृतिविद डा. जगमान गुरुङले गर्नुभएको हो ।
विमोचन समारोहमा बोल्दै डा. गुरुङले प्रवासमा नेपालीले कला र संस्कृतिलाई बढी महत्त्व दिएको बताउनु भयो । उहाँले म्यानमार, थाइल्याण्ड, दार्जिलिङमा बसोबास गर्ने नेपालीहरूमा देखिएको संस्कृतिप्रतिको सद्भाव नेपालमा पछिल्लो समय घटिरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “यहाँ ठेट नेपाली बोल्नेमा कमी देखिएको छ । हामीले नेपाल बाहिर रहनुभएका नेपालीबाट सिक्नु जरुरी छ । ठेट नेपाली शब्दको प्रयोग गर्नुलाई अन्य भाषाको ज्ञान नभएको रूपमा बुझ्नु भएन ।” उहाँले आप्रवासी नेपालीहरूको यस्तै गतिविधिले यहाँ झक्झकाउने समेत बताउनुभयो ।
कार्यक्रममा सङ्घकी अध्यक्ष वासाना राईले नेपालमा आएर पुस्तक नेपाली र अङ्ग्रेजी भाषासँगै तस्बिर कथामा लोकार्पण गर्न पाउँदा निकै खुसी लागेको बताउनुभयो । उहाँले भन्नुभयो, “यो पुस्तकले थाइल्याण्ड र म्यानमारमा रहेका नेपालीको अवस्थाबारे जानकारी दिन्छ । देशबाहिर रहेर पनि यहाँको संस्कृतिप्रतिको लगावलाई दर्शाउँछ । यो हाम्रो अनुभुति हो ।”
पुस्तकका लेखक तथा अनुसन्धानकर्ता रमेश खड्काले ८० वर्षको पुरानो इतिहासलाई पुस्तकमा समेट्न पाउँदा गौरव महसुस गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “असी वर्षभन्दा बढी लामो समयदेखि थाइल्याण्डमा बसोबास गरिरहेका आप्रवासी नेपालीका बारेमा वर्षदिन लामो अध्ययन र अनुसन्धानपछि यो पुस्तक तयार भएको हो । मैले उहाँहरूको इतिहासलाई नजिकबाट बुझ्ने मौका पाएँ, मैले यसलाई महत्त्वपूर्ण उपलब्धिका रूपमा लिएको छु ।”
उहाँले थाइल्याण्डमा नेपाली आप्रवासीको मौखिक इतिहासमा सीमित कुरालाई लिखित दस्तावेजको रूपमा बाहिर ल्याएको बताउनुभयो ।
कार्यक्रममा पूर्वराजदूतहरू डा. दिनेश भट्टराई, डा. खगनाथ अधिकारी, सङ्घका पूर्वअध्यक्ष कुमार कार्की, गायक आनन्द कार्की, गायिका इन्दिरा जोशी, अभिनेत्री दीपाश्री निरौला, अभिनेता किरण केसी, निर्मल शर्मा, जीतु नेपाललगायत उपस्थित हुनुहुन्थ्यो । कायक्रममा संस्कृति झल्काउने नृत्यसँगै नेपालीले थाइल्याण्डको पिलोक भन्ने स्थानबाट सुरू गरेको जीवनीलाई श्रव्यदृश्यमार्फत प्रस्तुत गरिएको थियो ।
पुस्तकमा नेपालीहरूको आप्रवासन र थाइल्याण्डमा नेपालीहरूको इतिहासबारे लुकेका तथ्य समेटिएको छ । बर्मासँग सीमा जोडिएको थाइल्याण्डको पिलोक भन्ने ठाउँमा माइन (कोइलाखानी)को काम गरेर सुरु भएको नेपालीहरूको थाइल्याण्ड आप्रवासनको कथालाई प्रस्तुत गरिएको पुस्तकमा एउटा पहाडको टुप्पोमा कसरी उनीहरूले आफ्नो जीवनलाई चलायमान पारे र कसरी आफ्नो भूमिकालाई स्थापित गरे भन्ने कुरा पनि समावेश गरिएको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।