मकवानपुरको अग्रणी साहित्यिक संस्था झरना साहित्यिक परिवार (झसाप) ले एकैदिन दुई विद्यालयमा काव्य प्रशिक्षण गरेको छ । झरनाले बुधबार बकैया गाउँपालिकामा रहेको बुद्ध मावि र बागमती गाउँपालिकामा रहेको जनता माविमा काव्य प्रशिक्षण गरेको हो ।
झसाप मकवानपुरले २९१ औँ साहित्य शृङ्खलाअन्तर्गत बुद्ध मावि हात्तिसुडेँमा उच्च माध्यमिक तहका विद्यार्थीहरुलाई काव्य प्रशिक्षण गराएको हो ।कार्यक्रममा बुद्ध माविमा उच्च माध्यमिक तहमा अध्ययनरत् करिब ८० जना विद्यार्थीहरुलाई कविता, गीत र गजल लेखनसम्बन्धी प्रशिक्षण प्रदान गरिएको थियो ।
बुद्ध माविमा भएको कार्यक्रममा बुद्ध माविका प्रअ प्रेम बोम्जन, सप्रअ योगबहादुर राई तथा शिक्षक सुरेश रेग्मीलगायतको आतिथ्यता रहेको थियो ।
यस्तै, बुधबार नै झसाप मकवानपुरको २९२ औँ साहित्य शृङ्खलाअन्तर्गत जनता मावि बागमतीमा काव्य प्रशिक्षण गरेको छ । जनता मावि माध्यमिक तहका विद्यार्थीहरुलाई काव्य प्रशिक्षण गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथिको रुपमा बोल्नु हुँदै झसाप मकवानपुरका संरक्षक रमेशमोहन अधिकारीले आफूसँग भएको क्षमतालाई प्रष्फुटन गर्नका लागि यस्ता कार्यक्रमले सहजीकरण गर्ने बताउनुभयो । उहाँले आफूभित्र भएको प्रतिभालाई सबैले समयमै चिन्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रमका विशेष अतिथि यादवराज बरालले झरनाले गाउँमा पुगेर यस्ता कार्यक्रम गर्दा विद्यार्थीलाई सिर्जनशील हुन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा जनता माविमा माध्यमिक तहमा अध्ययनरत् करिब ६० जना विद्यार्थीहरुलाइ कविता, गीत र गजल लेखनसम्बन्धी प्रशिक्षण गरिएको थियो ।
झरना साहित्यिक परिवारका अध्यक्ष विश्वनाथ सञ्जेलको सभाध्यक्षतामा भएको कार्यक्रममा संस्थाका सचिव मसान उपासकले काव्य प्रशिक्षण दिनुभएको थियो भने कार्यसमिति सदस्य प्रेम बोम्जनले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो ।
“सिर्जनशील नयाँ पुस्ता निर्माण अभियान”अन्तर्गत सो काव्य प्रशिक्षण गरिएको संस्थाका सचिव मसान उपासकले जानकारी दिनुभयो । अबको पुस्ता सिर्जनशील रहे मात्रै समाज उन्नत बाटोमा जाने भएकोले यो अभियान चलाएको उहाँले बताउनुभयो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।