
“बिसे नगर्ची ” विशेषाङ्क प्रकाशनमा भएकाे छ । नेपालको एकीकरण अभियानका क्रममा बिसे नगर्चीले महत्त्वपूर्ण योगदान पु-याउनुभएको थियो । त्यस ऐतिहासिक योगदानको स्मरण गर्दै “बिसे नगर्ची ” विशेषाङ्क स्मारिकाको रूपमा परियार समाज केन्द्रीय समितिले प्रकाशित गरेको छ ।
यस अवसरका प्रमुख अतिथि तथा माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले “बिसे नगर्ची” विशेषाङ्कको विमोचन गर्दै बिसे नगर्चीले राष्ट्रिय एकताअभियानमा पु-याएको योगदान र परियार समुदायको सिप र कलालाई लिपिबद्ध गर्ने कार्य प्रशंसनीय रहेको बताउनुभयो । उहाँले भन्नुभयाे, ‘इतिहास राजा, राजदरबार र दरबारका वरिपरि रहने व्यक्तिहरूको मात्रै लेखिने गरिन्थ्यो । जनताका छोराछोरीले देश निर्माणमा जतिसुकै ठुलो बलिदान दिए तापनि त्यस ताकाको इतिहास कहिल्यै लेखिएन र लेख्न दिइएन । तर तत्कालीन नेकपा माओवादीले दश वर्षे जनयुद्ध गरेकाले नै देशबाट राजतन्त्र फ्याकियो ।देशमा गणतन्त्र आयो । नेपाली जनताका हकअधिकारहरू संविधानमा लिपिबद्ध हुन पाए । संविधान समानुपातिक र समावेशी सिद्धान्तमा आधारित बन्यो ।’
किरातीले नेपालकाआदिवासी, जनजाति ,दलित, पछाडि पारिएका वर्ग समुदायहरूकाअधिकारका लागि सङ्गठित भएर आआफ्ना एजेन्डा लिएर एकै ठाउँमा उभिन र अगामी निर्वाचनमा संसदमा बहुमत पु-याई संविधान संशोधन गरेर ती वर्ग समुदायको अधिकार सुनिश्चित गर्न सुझाव दिनुभयो ।
उक्त कार्यक्रमका विशिष्ट अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले मन्तव्यका क्रममा कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्दै परियार समाजले “बिसे नगर्ची “विशेषाङ्क प्रकाशन गरेर बिसे नगर्चीलाई उजागर गर्ने गरी स्मारिका प्रकाशित गर्नु इतिहासका अमर व्यक्तित्वलाई सम्मान गर्नु हो भन्नुभयो । आफ्नो वंशको योगदानबारे खोजअनुसन्धान गरेर आफ्नो कलाकौशल र सिर्जनालाई सुपरिचित गराउने भूमिका खेल्नु आफैँमा महत्त्वपूर्ण विषय हो भन्नुभयो ।
कार्यक्रम तथा परियार समाजका अध्यक्ष मे. बलबहादुर सुन्दासले किनारामा पारिएका दलित समुदायले राष्ट्रका लागि पु-याएको योगदान ,सांस्कृतिक, कलाकौशल र मौलिक सिर्जनालाई सरकारले विशेष प्राथमिकता दिनुपर्ने बताउनुभयो ।
समाजका सल्लाहकार सीताराम घलेको विशेष पहलकदमी र अर्जुन परियारको सम्पादनमा स्मारिका -१, “बिसे नगर्ची” विशेषाङ्क प्रकाशित भएको हो ।
कार्यक्रमको सञ्चालन समाजका महासचिव धर्म परियारले गर्नुभएको थियो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

