वरिष्ठ पत्रकार, सामाजिक अभियन्ता भैरव रिसालको जीवन-भोगाइ समेटिएको पुस्तक ‘भैरव दाइ’ प्रकाशनमा आएको छ । रिसालको ९६ औँ जन्मोत्सवको अवसर पारेर आयोजित कार्यक्रमका बिच उक्त पुस्तक लोकार्पण गरिएको हो ।
पुस्तकमा रिसालको ‘रहरले कम्युनिस्ट, बाध्यताले पत्रकार’, ‘दुई सय रुपैयाँ घुस’, ‘हाम्रै हो लिम्पियाधुरा’, ‘सुशीला, सरकारी पत्रकार’, ‘चर्पी नबनाउनेको घरमा चिया खान्नँ म’, ‘जेल जीवन र राजनीति’, ‘चुनाव’, ‘गाउँको विकास’, ‘पत्रकार’, ‘उहिले बाजेको पालामा’, ‘लोभी पशुपति’, ‘राजासँगका भ्रमण’लगायत अनुभूतिहरू समेटिएका छन् ।
पुस्तक लोकार्पण गर्दै मानवअधिकारकर्मी गौरीशंकरलाल दासले पुस्तकले भैरवको जीवनलाई उजागर गरेको जनाउँदै उनले जीवनमा प्राप्त गरेको उपलब्धि पुस्तकमा समेटिएको जनाए । अधिकारकर्मी दासले भैरव रिसालसँगको अनुभूति स्मरण गर्दै भने, ‘म र भैरव भाइले सँगसँगै काम गरेका थियौँ, हाम्रो पुरानो सम्बन्ध छ । पुस्तकमार्फत उहाँले जीवनको भोगाइ समेट्नुभएको छ ।’
वरिष्ठ पत्रकार रिसालले ज्येष्ठ व्यक्तित्वबाट पुस्तक लोकार्पण गराएका थिए । मानिसको जिन्दगी कर्कलाको पातको पानी जस्तो भएको उल्लेख गर्दै उनले जीवित रहुञ्जेल राम्रो काम गर्नुपर्ने जनाए । आफूले पुस्तकमार्फत जिन्दगीको अनुभव साटेको उनको भनाइ थियो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।