पठन संस्कृति प्रवर्धनका लागि टीकापुर सामुदायिक पुस्तकालयद्वारा हरेक महिना प्रदान गरिँदै आएको उत्कृष्ठ पाठक पुरस्कार टीकापुरका अरुण लोहारले प्राप्त गरेका छन् । असार महिनामा सामुदायिक पुस्तकालय टीकापुरमा १ सय ६० घण्टा ४० मिनेट अध्ययन गरेका लोहारले १० हजार नगदसहित पुरस्कार पाएका हुन् ।
प्राविधिक धारतर्फको इञ्जिनियरिङबाट कक्षा १२ को परीक्षा दिएका लोहारले पुस्तकालयमा बसेर रकेट साइन्स तथा स्पेस टेक्नोलोजीसम्बन्धी पुस्तकहरू अध्ययन गरेको पुस्तकालयले जनाएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवं टीकापुर नागरिक समाजका पूर्व अध्यक्ष फिरुलाल चौधरीले पुस्तकालयले ज्ञानको भण्डार भएकाले यसको फाइदा लिन आग्रह गरे । ‘विद्यार्थीहरुका लागि यो ज्ञानको भण्डार हो, यसको फाइदा लिन विद्यार्थीले ध्यान दिन जरुरी छ’ चौधरीले भने ‘पुस्तकालयले समेत नयाँ नयाँ विषय र पाठ्यपुस्तकहरुको व्यवस्थापन गर्न आवश्यक रहेको छ ।’
असार महिनाको पुरस्कार टीकापुर घर भई मलेसियास्थित नेपाली राजदूताबासमा कार्यरत टेक बुढाले सौजन्य गरेका थिए । पुस्तकालयका अध्यक्ष ताराप्रसाद जोशीको अध्यक्षतामा भएको कार्यक्रममा कोषाध्यक्ष वीरेन्द्र साउद लगायतले बोलेका थिए ।
टीकापुर सरोकार समूहको संयोजनमा पठन संस्कृति प्रवर्धनका लागि पुरस्कार पाउने लोहार आठौं उत्कृष्ठ पाठक हुन् । यसअघि उपेन्द्र चौधरी, सीमा कठरिया, मनिषा रावल, नवीन शाह, प्रगति शर्मा, आरती उपाध्याय र कमला मिश्रले उत्कृष्ठ पाठकको पुरस्कार पाएका थिए ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।