नेपाल प्रज्ञा प्रतिष्ठानको साहित्य (मातृभाषा) विभागले ‘मातृभाषा साहित्य’को मासिक शृङ्खला साउनबाट सुरु गरेको छ ।

पहिलो शृङ्खलाअन्तर्गत डा. सोमबहादुर धिमालले ‘धिमाल भाषाको साहित्य र युवाको भूमिका’ शीर्षकको कार्यपत्र प्रस्तुत गरेसँगै मातृभाषा साहित्य शृङ्खला सुरु भएकाे हाे ।

सो अवसरमा डा. धिमालले धिमाल भाषा, साहित्यको वर्तमान अवस्थाको विविध पाटोबारे प्रकाश पारेका थिए । बिहेलगायत अवसरमा गाइने गीत हराउँदै गएको उनको भनाइ थियो । पहिले आर्थिक अवस्था कमजोर हुनेले बिहेभोज पछि ख्वाए पनि हुन्थ्यो । त्यसैले, आफूले आफ्नै बाबुको बिहेभोज खाएको रोचक प्रसंग उनले सुनाए ।

मातृभाषा विभाग प्रमुख प्राज्ञ राजन मुकारुङले श्रृङ्खलाले मातृभाषीहरुले अपनत्व महसुस गर्न पाउने  विश्वास व्यक्त गरे । उनले भने, ‘वर्षमा मात्र एक दिन मनाइने मातृभाषा दिवसको न्यास्रो यसले मेट्ने छ ।’

कुलपति भूपाल राईले प्रज्ञाको ६८ वर्षको इतिहासमा पहिलो पटक ‘मातृभाषा साहित्य शृंखला’को सुरुवात गरेकोमा मातृभाषा विभागको सराहना गरे ।

कार्यक्रममा अञ्जु राजवंशी, विनिता ताजपुरिया तथा देवकुमार चौधरीले आआफ्नो भाषामा कविता वाचन गरेका थिए । विभागका अनुसार अब भदौ महिनाको अन्तिम शुक्रबार कोँइच सुनुवार विशेष श्रृङ्खला (सिर्जना, संवाद र विमर्श) हुनेछ ।