साहित्यपोस्ट
नेपाली कलासाहित्य डटकम प्रतिष्ठानले विगत ११ वर्षदेखि नियमित रूपमा प्रकाशित गर्दैआएको ‘कलाश्री’ साहित्यिक वार्षिक पत्रिकाको २०७७ सालको अङ्क प्रकाशित भएको छ ।
एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको सहकार्यमा ‘कलाश्री’ प्रकाशित भएको हो ।
नेपालको साहित्यिक पत्रकारितामा नै उत्कृष्ट मानिने ‘कलाश्री’को नयाँ अङ्क हालै राजधानीको पानीपोखरीस्थित एनएलजीको मुख्यालयमा आयोजित विशेष समारोहमा सार्वजनिक गरिएको हो । सो अवसरमा एनएलजी कलाश्री सिर्जना पुरस्कार कवि तथा समालोचक सुरेश हाचेकालीलाई समर्पण गरिनुका साथै विशेष शान्ति कविता गोष्ठीसमेत आयोजना गरिएको थियो ।
‘कलाश्री’को नयाँ अङ्कमा प्रकाशित विशिष्ट सिर्जनाहरूमध्ये विशेष ठहरिएको हाचेकालीको समालोचनात्मक सिर्जनाले उक्त पुरस्कार प्राप्त गरेको हो । पत्रिकामा हाचेकालीले सरुभक्तको अहंवादसम्बन्धी सिद्धान्तलाई आधार मानेर सिर्जना गरिएको समालोचना समाविष्ट छ ।
नेपाली कलासाहित्य डटकमले विगत १७ वर्षदेखि निरन्तर नेपाली र अङ्ग्रेजी दुवै भर्सनमा विशुुद्ध कलासाहित्यिक वार्षिक ई–पत्रिका पनि प्रकाशित गर्दैआएको प्रतिष्ठानकी अध्यक्ष मोमिलाले साहित्यपोस्टसँग बताइन् । सो ई–पत्रिका पनि सोही कार्यक्रममा प्रमुख इन्स्योरेन्सका सिइओ सुनिलबाबु पन्तले सार्वजनिक गरेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि पूर्वअर्थमन्त्री एवम् कवि तथा गीतकार एस्पी कोइराला भने, “नेपाली साहित्यको समृद्धिमा नेपाली कलासाहित्य डटकम प्रतिष्ठानको उल्लेखनीय योगदान रहेको छ ।” समारोहमा विमल कोइराला र पन्तले पनि बोलेका थिए ।
बुद्धजयन्तीको सन्दर्भसमेत जोडेर आयोजित विशेष शान्ति कविगोष्ठीमा कविहरू डा. विमल कोइराला, उषा शेरचन, एसपी कोइराला, मोमिला, शशी लुमुम्बू, केशव सिग्देल, फूलमान बल, मणि लोहनी, अरुण वैद्य, महेश पौड्याल, राजेश्वर कार्की, सविता गौतम, अनुपम रोशी, हाचेकाली र प्रज्वल अधिकारीले शान्ति विषयमा सिर्जना गरिएका आआफ्ना कविता पाठ गरेका थिए ।
कलाश्रीमा नेपाल तथा नेपाल बाहिरका स्रष्टा र विदेशी स्रष्टाका समेत गरी करिब तीन सय स्रष्टाका कथा, कविता, लेख, निबन्ध, संस्मरण, समालोचना लगायतका सामग्री समाविष्ट छन् ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

