विशेष संगीतमय कार्यक्रमका बिच डा. मुकुन्द पथिकको गीति एल्बम ‘प्रतिविम्ब’को लोकार्पण गरिएको छ । वरिष्ठ कलकार मदनकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यतामा जूम प्रविधिमार्फत् आयोजित कार्यक्रममा उक्त गीति एल्बमको लोकार्पण गरिएको हो ।
कार्यक्रमको आयोजना अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) ले गरेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि प्रसिद्ध कलाकार मदनकृष्ण श्रेष्ठले गीति एल्बम लोकार्पण गर्दै यस एल्बमले नेपाली समाजको धुकधुकी समेट्न सफल भएको बताउनु भयो । उहाँले आफूले “छोरा पायो बुहारीलाई…” बोलको गीतमा स्वर दिन पाएकोमा ज्यादै खुसी लागेको बताउनुभयो ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) का अध्यक्ष श्री गोवर्धन पूजाले अनेसासको गतिविधिको चर्चा गर्दै डा. मुकुन्द पथिकद्वारा रचित प्रतिबिम्ब गीति एल्बल लोकार्पण कार्यक्रमको आयोजना गर्ने अवसर प्राप्त भएकोमा आभार व्यक्त गर्नुभयो । त्यस्तै, बोर्ड अफ ट्रष्टीका सभापति श्री पदम विश्वकर्माले डा. मुकुन्द पथिकद्वारा अनेसासको केन्द्रीय कार्यसमितिको निर्वाचनमा आयुक्तको रूपमा र प्राज्ञिक कार्यमा सहयोग प्राप्त गरेको कुरा उल्लेख गर्दै उहाँको गीति एल्बम लोकार्पण हुनु ज्यादै हर्षको कुरा भएको कुरा जानकारी दिनुभयो ।
त्यस्तै, एल्बमका संगीतकार जुगल डंगोलले डा. मुकुन्द पथिकसँगको दोस्रो एल्बमका लागि सहकार्य गर्न पाएकोमा धन्यवाद व्यक्त गर्नुभयो भने अनेसास बिओटीका कार्यकारी सदस्य तीर्थ अधिकारीले गीतभन्दा संगीत पहिलेदेखि गुञ्जिन लागेको र बच्चाको रुवाइमा पनि संगीत भेटिने कुरा चर्चा गर्दै डा. पथिकको गीतले समाजको भावना समेटेको धारणा राख्नुभयो ।
त्यसैगरी, कवि मञ्जुलले गीतकारले धेरै वर्षदेखि राम्राराम्रा गीतहरू रचना गर्दै आउनुभएको र “जन्मदिनको शुभकामना” भन्ने गीतले नयाँपन ल्याएको बताउनुभयो ।
स्रष्टा डा. मुकुन्द पथिकले प्रमुख अतिथिदेखि उपस्थित अतिथि र दर्शकका साथै गायकगायिकाहरू सुगम पोखरेल, संगीता प्रधान, निसान भट्टराई, हेमन्त कान्छा रसाइली र प्रिजा मिश्रका साथै संगीतकार जुगल डंगोललाई धन्यवाद अर्पण गर्नुभयो । उहाँले जीवनको यथार्थपरक बिम्बको रूपमा तयार भएको एल्बमले नेपाली समाजलाई प्रतिबिम्बित गरेको कुरा उल्लेख गर्नुभयो । कुनै पनि गीत सफल हुनका लागि शब्द, संगीत र स्वरको संयोजन हुनु जरुरी रहेको कुरा चर्चा गर्दै गरिमामय कार्यक्रम आयोजना गरिदिएकामा अनेसासप्रति आभार व्यक्त गर्नुभयो ।
उक्त कार्यक्रममा एल्बमका ६ वटा गीतहरूको भिडियोलाई मुहान शर्माले आकर्षक रूपमा १२ मिनेटमा प्रस्तुत गर्नुभएको थियो भने एल्बमका प्रस्तुतकर्ता श्रीमती सरला वाग्लेले सबैलाई धन्यवाद अर्पण गर्नुभयो ।
अनेसासका वरिष्ठ उपाध्यक्ष श्री सर्वज्ञ वाग्लेले कार्यक्रमको सञ्चालन तथा कार्यक्रमको समग्र समीक्षा गर्नुभएको थियो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।