सिक्किमको राजधानी गान्तोकस्थित जनता भवनमा भारतीय गोर्खा परिसङ्घ, सिक्किम शाखाको कार्यकारिणी चुनाव तथा साङ्गठनिक सभा सम्पन्न भएको छ । उक्त सभाले चुनीलाल घिमिरे निर्विरोध निर्वाचित गरेको छ । त्यस्तै। महासचिवमा अमिता जी. थापा र कोषाध्यक्षमा चन्द्रा राई पनि निर्विरोध निर्वाचित बनेका छन् ।

चुनावी प्रक्रियाअन्तर्गत नामाङ्कन पत्र क्रमैले अध्यक्ष, महासचिव र कोषाध्यक्ष पदमा क्रमशः चुनिलाल घिमिरे, अमीता जी. थापा तथा चन्द्रा राईले नामाङ्कन गराएका थिए । उल्लेखित पदहरूमा अन्य कसैले पनि प्रतिद्वन्द्विताका हिसाबमा नामाङ्कन नभरेका कारण स्वतः उनीहरू तीनैजना निर्विरोध निर्वाचित भएका हुन् ।

निर्विरोध निर्वाचित तीन सदस्यीय समितिले भारतीय गोर्खा परिसङ्घको नियममुताबिक अन्य पदहरूमा मनोनयन गर्ने कार्य गरेको थियो ।

भारतीय गोर्खा परिसंघ, सिक्किम शाखाको पक्षबाट मनोनयन गरिएका पदहरूमा क्रमैले वरिष्ठ उपाध्यक्ष पूर्ण योञ्जन, उपाध्यक्षगणमा विक्रम गौतम, अमर बानिया लोहोरो, जीवन कटुवाल, विमल काफ्ले, डी. बी. छेत्री, रेणुका चक्रवर्ती, सह-कोषाध्यक्ष प्रदीप रसाइली, सचिव साहित्य अर्जुन पीयूष, प्रचार सचिव भीम प्रधान, संस्कृति सचिव तिमोथी राई, प्रशासनिक सचिव ललित लोहार एवं जिल्ला सचिवगण दुर्गा राणा (दक्षिण), कुबेर विष्ट (पश्चिम) तथा उमा पाण्डे (पूर्व) रहेका छन् ।

यसभन्दा पहिले भारतीय गोर्खा परिसंघ, सिक्किम शाखाको तदर्थ समितिलाई निर्वाचनमार्फत् सक्रिय बनाइएको छ।

यसरी नै भागोप, सिक्किम शाखाको शीर्ष संरक्षकगणमा पी. के. प्रधान, पद्मश्री सानु लामा, डुपछिरिङ लेप्चा, एस. आर. सुब्बा, पद्मश्री द्रौपदी घिमिरे, डी. आर. नेपाल एवं प्रमुख सल्लाहकारको रूपमा सी. पी. गिरी (आईपीएस) रहेका छन् भने सल्लाहकारवर्गको पङ्क्तिमा धेरै प्रमुख व्यक्तित्वहरू रहेका छन्।

अध्यक्ष चुनीलाल घिमिरे, महासचिव अमीता जी. थापा तथा कोषाध्यक्ष चन्द्रा राईलाई पहिलो सत्रको कार्यक्रमअन्तर्गत परिसंघका प्रमुख सल्लाहकार सी. पी. गिरीको अध्यक्षतामा सम्पन्न गरिएको कार्यक्रममा प्रमाण पत्र हस्तान्तरण गरियो। अध्यक्षको पदभार ग्रहण गरेपछि चुनिलाल घिमिरेको नेतृत्वमा मनोयन गर्ने प्रक्रियालाई सम्पन्न गर्दै घिमिरेले आफ्नो सम्बोधनमा भारतीय स्तरमै भारतीय गोर्खा परिसंघको सिक्किम शाखालाई दह्रिलो बनाउने बाचा-बन्धनका साथ यथाशीघ्र सिक्किमको राजधानी गान्तोकमा भारतीय गोर्खा परिसंघ केन्द्रिय समितिसह भारतका विभिन्न प्रान्तमा रहेका परिसंघकै शाखाहरूका प्रतिनिधिहरूलाई भेला गरी एक विराट अधिवेशन गरिने सङ्कल्प घिमिरेले राखेका छन्। यसरी नै पहिलो सत्रका अध्यक्ष सी. पी. गिरीले आफ्नो सम्बोधनमा भागोपको केन्द्रिय समितिमा आफू रहँदाताका बटुलेका अनुभवहरूलाई साझा गर्दै भागोप, सिक्किम शाखालाई कतिपय सल्लाह-सुझाउहरू दिने कार्य गरे।

सिक्किम अकादमीका अध्यक्ष एस. आर. सुब्बाको अध्यक्षतामा सम्पन्न भएको दोस्रो सत्रमा भागोप, सिक्किम शाखाका विभिन्न पदहरूमा मनोनयन भएका सदस्यगणहरूले चर्चामा सहभागिता जनाउँदै सिक्किम शाखालाई कसरी दह्रिलो र पोटिलो बनाउने, आगामी २५ अगस्तको दिन दार्जीलिङमा सम्पन्न हुने बलिदान दिवसमा सिक्किम शाखाको पक्षबाट जोरदार रूपमा सहभागिता जनाउँदै अन्य कतिपय महत्वपूर्ण विषयहरूमाथि पनि चर्को बहस गरियो। कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष सुब्बाले सम्पूर्ण जातीय ऐक्यबद्धता रहन आवश्यक रहेको जनाउँदै आगामी दिनहरूमा भागोप, सिक्किम शाखाले सिक्किमको नामलाई अझ उज्जवल बनाउने कुरामा आफू आशावादी रहेको स्पष्ट पारे ।

साङ्गठनिक सभामा साहित्य सचिव अर्जुन पीयूषको नेतृत्वमा भोगाप, सिक्किम शाखाको पक्षबाट सर्वभारतीय स्तरमा एक पुस्तक प्रकाशन गर्ने निधो लिइयो। सभामा उपस्थित रहेका प्रतिनिधहरूको सहमतिमा उक्त पुस्तकमा प्रमुख सम्पादकको रूपमा अर्जुन पीयूष, प्रमुख सल्लाहकार सम्पादकको रूपमा चुनिलाल घिमिरे रहनेछन् भने सम्पादक मण्डलीमा प्रा. तेजमान बराइली, पूर्ण योञ्जन, जीवन कटुवाल, विमल काफ्ले, एन. पी. एस. निरौला मनोनीत भएका छन्। प्रमुख व्यवस्थापकको रूपमा प्रताप प्रधानलाई नियुक्त गरिएको छ भने सहयोगी व्यवस्थापकको रूपमा कुबेर विष्टलाई मनोयन गरियो।

पुस्तकका अन्य कतिपय पदहरूमा सल्लाह-विमर्शपछि चुडान्त निर्णय लिइने बताइएको छ। यो पुस्तकको प्रकाशन तथा व्यवस्थापन भागोप, सिक्किम शाखाले गर्ने पनि सभामा निर्णय गरियो । दुवै सत्रको सम्पूर्ण कार्यक्रमको सञ्चालन युवा साहित्यकार खुसेन तिम्सिनाले गरेका थिए ।