मदन पुरस्कार-२०७९ का लागि उत्कृष्ट पाँच पुस्तक छनोट भएका छन् ।
वर्षभरि छापिएका पुस्तकहरूमध्ये पुरस्कारका लागि योग्य भएको भनी दर्ता भएका ३१३ पुस्तकहरू छनोट भएका हुन् । पुस्तक सूची मदन पुरस्कार गुठीले सार्वजनिक गरेको हो ।
छनोट भएका पुस्तकहरूमा सुविन भट्टराईको इजोरिया, विवेक ओझाको ऐँठन, द्वारिकानाथ ढुंगेलको चक्रव्यूहमा नेपालको जलस्रोत, प्रगति राईको थाङ्ग्रा र सञ्जय बिष्टको माटाको घर छन् ।
अघिल्लो वर्ष भने पुस्तक सूचीमा आठ पुस्तक अटाएका थिए । अघिल्लो वर्ष २१० पुस्तक पुरस्कारका लागि दर्ता भएका थिए ।
यस वर्ष छनोटमा परेको इजोरिया सुविनको पाँचौँ उपन्यास हो । उनी किशोर तथा युवापुस्तामाझ निकै लोकप्रिय छन् । गत वर्ष यो उपन्यास बजारमा आउनेबित्तिकै बेस्टसेलर बन्न पुगेको थियो । एक अनौपचारिक तथ्याङ्कअनुसार, यो उपन्यास हालसम्म ६० हजार प्रति बिक्री भइसकेको छ ।
इजोरिया मैथिली शब्द हो जसको अर्थ ‘जुनेली’ हुन्छ । उपन्यासमा सुबिनले पारिवारभित्र देखिने प्रेम, घृष्णा र द्वन्द्वलाई कथाका रुपमा उतारेका छन् । यसअघिका उपन्यासहरूमा काठमाडौं केन्द्रित देखिएका सुविनले इजोरियामा मधेशको परिवेशमा समाएका छन् ।
पुस्तकलाई फाइन प्रिन्टले प्रकाशनमा ल्याएको हो ।
यसैगरी सूचीमा रहेको विवेक ओझाको ऐंठन भने दुई दशकअघिको माओवादी विद्रोहलाई नयाँ पुस्तामाझ चिनाउन लेखिएको हो । यो युद्ध साहित्यको उम्दा उदाहरण बनेको केहीको दाबी छ । उपन्यासमा आञ्चलिकता मुखर भएको छ ।
यस्तै द्वारिकानाथ ढुंगेलले चक्रब्यूहमा नेपालको जलस्रोत पुस्तकमा कसरी नेपालको जलस्रोत नेपालले नै सदुपयोग गर्न नसक्ने गरी सम्झौताहरू गरिएका छन् भनी पुस्तकमा प्रस्ट्याएका छन् । कुन कुन बेला, कस कसको पालामा नेपालका खोलानाला र जलस्रोतमाथि कसकसले सम्झौता गर्यो भन्नेबारे मिहिन रूपमा केलाइएको छ ।
प्रगति राईद्वारा लिखित तेस्रो उपन्यास थाङ्ग्राले भने पितृसत्ताको परम्परामाथि धावा बोलेको छ । छोरी परिवारको सपनाको संवाहक बन्न सक्ने, वंश धारण गर्न सक्नेजस्ता विषयमा उपन्यास केन्द्रित छ । उपन्यासमा पूर्वी भेगकी एउटी राई छोरी सुदूरपश्चिम बैतडीको दलित युवकसँग प्रेम, विवाह गरेको कथा छ ।
सञ्जय विष्टको माटाको घर पनि यो सूचीमा परेको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।