किरात राई प्रज्ञा प्रतिष्ठान हङकङको आयोजनामा किराया हङकङको मुखपत्र “यलम्वर” अङ्क २१ अन्तर्गत अन्तरजातीय विवाह र चुल्हा प्रचलन सम्बन्धी छलफल सम्पन्न भएको छ । उक्त लेखक भेटघाट तथा छलफल कार्यक्रम प्रज्ञा प्रतिष्ठान हङकङका सचिव वसन्त विपीन राईको अध्यक्षतामा सम्पन्न भएको हो ।

जोरपाटीको अत्तरखेलस्थित इस्ट-वेस्ट फाष्टफुड क्याफे रेष्टुरेन्टमा सम्पन्न उक्त कार्यक्रममा लेखक, स्रष्टा तथा बुद्धिजीवीहरूको उपस्थितिमा रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा डा. भक्त राई तथा डा. तारामणी राईको उपस्थिति रहेको थियो । त्यस्तै, अतिथिहरू अन्तर्राष्ट्रिय खेलकुद छनोट परिषदका प्रमुख एवं उपसचिव महेन्द्र राई, प्रज्ञा प्रतिष्ठान नेपालका प्राज्ञ चन्द्र रानाहँछा, संगीतकार गायक एवं एरेन्जर थिरज राई, गीतकार संघका उपाध्यक्ष रमेश कोइराला, गीतकार संघका निवर्तमान अध्यक्ष शुभ मुकारुङ, साहित्यकार चन्द्र मादेन आन्छन, चर्चित पत्रकार टिका चाम्लिङलगायत विभिन्न लेखक, संस्कृतिकर्मी, रंगकर्मी, साहित्यकार, संगीतकार, गायक, कविहरूको बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रममा उपस्थित व्यक्तित्वहरूले “अन्तरजातीय विवाह र तीन चुलाको महत्त्व” सम्बन्धी गोलमेच छलफलमा आआफ्नो अवधारणा प्रस्तुत गरेका थिए । अधिकांश वक्ताहरूले हङकङका नेपालीहले राष्ट्रको हरेक दुःख-सुखमा उल्लेख्य योगदान दिएको र प्रवासमा पनि २१ औं अंकसम्म निरन्तर यलम्वर प्रकाशित गर्ने संस्था किरात राई यायोख्खाकी अध्यक्ष चन्द्रका/माया थुलुङ, प्रतिष्ठान हङकङका कुलपति शशीमदन राईलगायत आबद्व पदाधिकारी र शुभचिन्तकको उच्च प्रशंसा गर्दै धन्यवाद दिएका थिए ।

उक्त कार्यक्रममा यलम्वर पत्रिकाको २१ औं विशेषाङ्कमा महत्त्वपूर्ण लेख पस्किनुहुने चर्चित स्रष्टा प्रगति राई, डाक्टर भक्त राई र पत्रकार लेखक सचित राईलाई समाजसेवी एवं उपस्थितमध्येका जेष्ठ नागरिक दिलेन्द्र मुकारुङमार्फत शिरमा सेतो फेटा गुथेर (शिर उठानी) सम्मान गरिएको थियो ।

त्यस्तै, किराया हङकङ समितिद्धारा सहयोग नगद रु. २० हजार पठाइएको रकम किरात राई संस्कृति कलाकार संघका अध्यक्ष शालिक सताशक राई र महासचिव पदम थुलुङद्वयलाई सभाध्यक्ष वसन्त विपिन राईले हस्तान्तरण गर्नुभएको थियो ।

सो कार्यक्रमको सञ्चालन सामाजिक अभियन्ता प्रमिला राईले गर्नुभएको थियो ।