नेपाली हास्यव्यङ्ग्य संवर्धनको उद्देश्य लिएर फित्कौली अनलाइन मिडियाद्वारा स्थापित ‘फित्कौली हास्यव्यङ्ग्य राष्ट्रिय सम्मान (२०८०)’ हास्यव्यङ्ग्यकार चोलेश्वर शर्मालाई प्रदान गरिने भएको छ । फित्कौली अनलाइन मिडियाका अध्यक्ष तथा प्रधान सम्पादक नरनाथ लुइँटेलले शनिवार विज्ञप्ति प्रकाशित गरी उक्त जानकारी सम्प्रेषित गर्नु भएको हो ।

‘म त अप्रिल फुल भएछु’ (२०४२) नामक चर्चित हास्यव्यङ्ग्य कृतिका स्रष्टा चोलेश्वर शर्मा पाल्पामा रहेर लामो समयदेखि हास्यव्यङ्ग्य सिर्जनामा सक्रिय हुँदै आउनु भएको छ । गत असार ४ गते शर्माको ‘सगरमाथा एक पहाडको नाम होइन’ हास्यव्यङ्ग्य निबन्ध सङ्ग्रह लोकार्पण भएको छ ।

फित्कौली अनलाइन मिडियाले हास्यव्यङ्ग्य लेखनमा सक्रिय अन्य चार जना हास्यव्यङ्ग्य स्रष्टालाई पनि पुरस्कृत गर्ने निर्णय गरेको छ । गोविन्द–विजया फित्कौली हास्यव्यङ्ग्य राष्ट्रिय प्रतिभा पुरस्कार (०८०) द्वारा स्याङ्जाकी हास्यव्यङ्ग्य लेखिका गायत्री परिरोशनीलाई पुरस्कृत गरिने भएको छ भने ‘फित्कौली हास्यव्यङ्ग्य राष्ट्रिय कविता पुरस्कार (०८०)’ झापाका हास्यव्यङ्ग्य कवि खगेन्द्र नेउपानेलाई प्रदान गरिने भएको छ ।

त्यसै गरी ‘फित्कौली हास्यव्यङ्ग्य राष्ट्रिय निबन्ध पुरस्कार (०८०)’ गुल्मीका हास्यव्यङ्ग्य निबन्धकार काशीनाथ मिश्रितलाई प्रदान गरिँदै छ भने ‘मुकुन्द–मुना फित्कौली राष्ट्रिय बुढ्यौली साहित्य पुरस्कार (०८०)’ भक्तपुरका रामशरण न्यौपानेलाई प्रदान गरिने भएको छ ।

हास्यव्यङ्ग्यकार चोलेश्वर शर्मालाई नगद रु २० हजार १ सहित सम्मान पत्र प्रदान गरिने छ भने अन्य चार जना स्रष्टाहरूलाई रु. १५/१५ हजार नगद सहित सम्मानपत्र प्रदान गरिने छ ।

त्यसै गरि फित्कौली पत्रिकाको आरम्भकालदेखि अहिलेसम्म नै व्यङ्ग्यचित्र (कार्टुन) बनाएर विशेष योगदान पु¥याउँदै आउनु भएका कार्टुनिष्ट राजेश मानन्धरलाई फित्कौलीको प्रोत्साहन पुरस्कार स्वरुप नगद रु. १० हजार प्रदान गरिने छ ।

फित्कौलीले यसै वर्षदेखि प्रदान गर्न थालेका उपर्युक्त सम्मान तथा पुरस्कार मध्ये हास्यव्यङ्ग्य राष्ट्रिय कविता पुरस्कार र निबन्ध पुरस्कार चाहिँ वर्षभरि फित्कौली डटकममा प्रकाशित हास्यव्यङ्ग्य कविता र हास्यव्यङ्ग्य निबन्धहरू मध्ये उत्कृष्ट छनौटमा परेका रचनाका स्रष्टालाई प्रदान गरिने पुरस्कार हुन् । यी द्वय पुरस्कारका लागि रचना प्रथमपटक फित्कौली डटकममै प्रविष्ट गरिएको हुनु पर्ने कुरा विज्ञप्तिमा उल्लेख गरिएको छ ।

फित्कौली अनलाईन मिडियाले पुरस्कारका निम्ति हास्यव्यङ्ग्यकार चट्याङ मास्टरको संयोजकत्वमा सिस्नुपानी नेपालका अध्यक्ष लक्ष्मण गाम्नागे र डा. मुकेशकुमार चालिसे रहनुभएको छनौट समिति बनाएको थियो । समितिको पछिल्लो बैठकले पुरस्कारका लागि अन्तिम नामावली सिफारिस गरेको थियो ।

फित्कौली अनलाइन मिडियाद्वारा आगामी भदौ ९ गते शनिबार काठमाडौंमा आयोजना गर्ने ‘फित्कौलीको खित्कौली सभा–२’ अन्तर्गत सम्मान तथा हास्यव्यङ्ग्य कृति लोकार्पण समारोहमा स्रष्टाहरूलाई सम्मान तथा पुरस्कार अर्पण गर्ने भएको छ ।