नेपाली साहित्य समाज न्युजिल्यान्डको आयोजनामा न्युजिल्यान्डको क्राइस्टचर्चमा सम्पन्न एक साहित्यिक कार्यक्रममा नेपाली साहित्य समाज न्युजिल्यान्डका आजीवन सदस्यहरुलाई सम्मान गरिएको छ ।

कार्यक्रममा आजीवन सदस्यहरू प्राडा. राजेश ढकाल, डा. भुवनेश्वर ढकाल, शैलेश कर्माचार्य, विष्णु पोख्रेल, गोपालप्रसाद कँडेल, डा. नारायणी तिवारीलाई नेपाली साहित्य समाज न्युजिल्यान्डका अध्यक्ष डा. वीरेन्द्र केसीले आजीवन सदस्यता प्रमाण पत्र प्रदान गर्नुभएको थियो भने सल्लाहकारहरू बाबुराजा महर्जन, डा. भोला प्रधान, कार्यसमिति सदस्य इन्दु काफ्ले, नेपाल न्युजिल्यान्ड फ्रेन्डसिप सोसाइटीका कोषाध्यक्ष अमूल्य नेपाल र क्यान्टरवरी नेपालिज् सोसाइटीका उपाध्यक्ष जीवन अर्यालले खादा र टोपी लगाइदिएर सम्मान प्रकट गर्नुभएको थियो ।

समाजका अध्यक्ष डा. वीरेन्द्र केसीको अध्यक्षतामा सम्पन्न उक्त समारोह कोषाध्यक्ष डा. शिवप्रशाद पोखरेलको संयोजनमा आयोजना गरिएको थियो । समाजका वरिष्ठ सल्लाहकार डा. भोला प्रधानले उद्घाटन गर्नुभएको सो कार्यक्रममा नेपाल न्युजिल्यान्ड फ्रेन्डसिप सोसाइटीका तर्फबाट कोषाध्यक्ष अमूल्य नेपाल र क्यान्टरवरी नेपालिज् सोसाइटीका तर्फबाट उपाध्यक्ष जीवन अर्यालले शुभकामना मन्तव्य दिनुभएको थियो ।

समाजका कोषाध्यक्ष डा. शिवप्रशाद पोखरेल र सचिव गोपालप्रसाद कँडेलले सञ्चालन गर्नुभएको सो कार्यक्रममा साठी जनाजति नेपाली भाषा र साहित्यप्रेमीहरूको उपस्थित थियो । कार्यक्रममा समाजका सल्लाहकारहरु डा. भुवनेश्वर ढकाल, शैलेश कर्माचार्य, विष्णु पोख्रेल, सुमित्रा प्रधान, पदम अधिकारी, चिरञ्जीवप्रसाद ढकाल, डा. इश्वरी न्यौपाने, केपी रिजाल, जीवन अर्याल, डा. सरिता केसी, गोपाल पौडेल, गोपालप्रसाद कँडेल र गंगा शापकोटाले रचना वाचन गर्नुभएको थियो ।

बिच बिचमा नेपाली पोसाकमा सजिएका साना बाबुनानीहरुद्वारा प्रस्तुत नृत्यले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो । नृत्य गर्ने कलाकार बाबुनानीहरुलाई समाजका कार्यसमिति सदस्य इन्दु काफ्लेले प्रशिक्षण गराउनुभएको थियो ।

कार्यक्रमका सभाअध्यक्ष डा. वीरेन्द्र केसीले कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्नुहुने सबैलाई धन्यवाद दिँदै कार्यक्रम समापन गर्नुभएको थियो ।